भीरकोटमा सुत्केरी भैंसी पोषण भत्ता
पशुपालन व्यवसायलाई प्रोत्साहन गर्न, पशुको स्वास्थ्य सुधार्न, र गाउँमै स्वस्थ दूध उत्पादनलाई प्रोत्साहन गर्न भीरकोट नगरपालिकाले सुत्केरी भैंसी पोषण भत्ता कार्यक्रम सुरु गरेको छ। यस कार्यक्रम अन्तर्गत प्रत्येक सुत्केरी भैंसीका लागि कृषकलाई ३ हजार रुपैयाँको पोषण भत्ता प्रदान गरिने नगरपालिकाको पशु सेवा शाखाले जनाएको छ।
नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले यस कार्यक्रमले स्वस्थ दूधको आपूर्ति बढाउने, ग्रामीण क्षेत्रमा स्वच्छ र पौष्टिक दूध उपभोगलाई प्रोत्साहित गर्ने, र निरोगी समाज निर्माण गर्ने लक्ष्य राखेको बताउनुभयो।
भत्ता प्राप्त गर्न कृषकले निवेदन, वडाको सिफारिस, टोल मुचुल्का, नागरिकताको फोटोकपी, सुत्केरी भैंसी पाडीको फोटो, र बैङ्क खाताको चेकको प्रतिलिपी बुझाउनुपर्ने पशु प्राविधिक थान प्रसाद तिवारीले जानकारी दिनुभयो ।तर सामाजिक सुरक्षा भत्ता प्राप्त हुने बैंक खाताको प्रतिलिपीले चाहिँ नहुने तिवारीले बताउनुभयो ।
अनुगमनका लागि नगरपालिकाले निरीक्षणको प्रावधान राखेको छ, जसअन्तर्गत भत्ता दिइनु अघि भैंसीको वास्तविकता र अवस्था मूल्याङ्कन गरिनेछ। पशु प्राविधिक थान प्रसाद तिवारीका अनुसार करिब ५ सय आवेदन प्राप्त भैसकेका छन्।
आर्थिक वर्ष ८१/८२ मा यस कार्यक्रमका लागि १० लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ, जसले कृषकलाई थप सहुलियत प्रदान गर्ने अपेक्षा गरिएको छ।