जनताको सेवा नै पहिलो प्राथमिकता: नगर प्रमुख खनाल

असोज ०४, २०७८


आश्विन ०४, भीरकोट खबर डेस्क,



भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालले जनताको सेवाका लागि आफू सदैव लागि परेको बताउँदै संचार माध्यमहरूलाई जनहितका विषयमा जोडिएको विषयमा नकारात्मक सन्देश हुने खालका समाचार सम्प्रेषण नगर्न अनुरोध गर्नुभएको छ।स्वास्थ्य ऐन लागू नगरी नगर अस्पताल संचालन गरिएको भन्ने सम्बन्धमा स्थानीय तथा राष्ट्रिय संचार माध्यममा प्रकाशन/प्रसारण भएको समाचार प्रती इङ्कित गर्दै उहाँले व्यवस्थापकीय समस्याका कारण बन्द अवस्थामा रहेको कालिका सामुदायिक अस्पताललाई पुनर्जीवित गराई जनतालाई स्वास्थ्य सुविधा दिने हेतुले सामुदायिक अस्पताललाई नगर अस्पतालमा रुपान्तरण गरिएको बताउनुभयो ।नगर अस्पताल नामकरण गरिए पनि अहिले सम्म गण्डकी प्रदेश सरकार, साविकको अस्पताल व्यवस्थापन समिती र नगरको समन्वयमा अस्पतालमा सेवा सुचारू भएको बताउँदै उहाँले अस्पताल अझै पनि नगरको पूर्ण स्वामित्वमा नआइसकेको बताउनु भयो । नेपाल सरकारले प्रदान गरेको अस्पताल संचालन स्वीकृतिका आधारमा अस्पताल संचालन भैरहेको र विधिवत रूपमा नगरपालिकाको मातहतमा ल्याउने कार्य जारी रहेको बताउनुभयो ।



नगर स्वास्थ्य नीति बनिसकेको जानकारी दिंदै उहाँले यस्तो संक्रमणकालिन अवस्थामा सबैको समन्वय र सहयोगमा चलिरहेको अस्पतालमा जनतालाई स्वास्थ्य सेवा दिनु नै पहिलो प्राथमिकता रहेको बताउनुभयो।समाजको हित हुने पत्रकारिता गर्न संचार माध्यमलाई आग्रह समेत गर्नुभएको थियो। समाजको सत्प्रयास भन्दा पनि नकारात्मकता मात्रै कोट्याउने पत्रकारिता समाज र जनताका लागि घातक हुने बताउँदै उहाँले अस्पताल पनि संक्रमणकालिन अवस्थामा रहेको बताउनुभयो।जनतालाई सेवा दिनको लागि स्थापित विधि भत्काएर नयाँ विधि निर्माण गर्नुपर्नेमा जोड दिंदै उहाँंले अस्पताल सुचारू भएपछि सामान्य स्वास्थ्य उपचारको लागि पनि पोखरा, पाल्पा जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनु भयो । आकस्मिक स्वास्थ्य सेवा लिने विरामीको संख्या उच्च रहेको अस्पताल स्रोतले जानकारी दिएको छ। नगरपालिकाले कालिका सामुदायिक अस्पताललाई नगरको समन्वयमा संचालन गर्न थालेपछि हालसम्मको अवधिमा अवधिमा करिब १६७४ जना सेवाग्राहीहरूले सेवा लिएको अस्पतालले जनाएको छ । हाल नगर अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे तथा एक्सरे सेवा, फार्मेसी सेवा, प्रयोगशाला सेवा, इसिजी सेवा, कोरोना परीक्षण सेवा तथा बिरामी भर्ना सेवा उपलब्ध छ।