मुक्तिनाथ विकास बैंक १९ वर्षमा प्रवेश
स्याङ्जामा स्थापित भै कारोबार सुरू गरेको मुक्तिनाथ विकास बैङ्क १९ वर्षमा प्रवेश गरेको छ। बैंकले लिमिटेडले आफ्नो अठारौं वर्ष पूरा गरी उन्नाइसौं वर्षमा प्रवेश गरेको अवसरमा शुक्रबार देशभर विभिन्न कार्यक्रम सम्पन्न गरेको छ। बैंकले केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंसहित क्षेत्रीय कार्यालयहरु जनकपुर, नारायणगढ, धादिङ्ग, पोखरा, बुटवल र कोहलपुरमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरी ६११ युनिट रगत संकलन गरी स्थानीय रक्तसञ्चार गृहलाई हस्तान्तरण गरेको छ।
जलवायु परिवर्तन र वातावरण संरक्षणलाई लक्षित गर्दै कक्षा ८ देखि १० सम्मका विद्यार्थीबीच “Art for Earth: Combating Climate Change” शीर्षकमा राष्ट्रव्यापी चित्रकला प्रतियोगिता सम्पन्न भयो। कुल ४७६ विद्यार्थी सहभागी भएको प्रतियोगितामा युनाइटेड स्कुल, ललितपुरका जुलेन गुरुङ सर्वोत्कृष्ट घोषित भई ५० नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नुभयो। स्याङ्जा क्षेत्रबाट पञ्चकन्या मा.वि., अर्जुनचौपारीका स्नेहा सार्कीले उत्कृष्ट स्थान प्राप्त गर्नुभएको थियो। क्षेत्रीय स्तरका विजेताहरूले जनही रु. १० हजार नगद र प्रमाणपत्र गरेका छ्न् ।
बैंकले कृषि क्षेत्रमा अनुसन्धानमूलक पत्रकारिता गर्ने उत्कृष्ट तीन पत्रकारलाई “मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कार” प्रदान गर्यो। सागर परियार (जुम्ला), कौशिला कुँवर (काठमाडौं), र माधव प्रसाद अर्याल (पाल्पा) क्रमशः रु. ३५ हजार, रु. २५ हजार र रु. १५ हजार नगद पुरस्कारसहित सम्मानित हुनुभएको छ।
उपरोक्त दुवै प्रतियोगिताहरुमा सम्बन्धित विषयको स्वतन्त्र विशेषज्ञहरुको छनोटको आधारमा पुरस्कार घोषणा गरिएको थियो । साथै, बैंकले सात वटै प्रदेशलाई समेटिने गरी विभिन्न विद्यालयका कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ती, विभिन्न क्याम्पसहरुमा पुस्तकालय स्थापना तथा भौतिक संरचना निर्माण गर्न सहयोग, विभिन्न विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी सामग्रीहरु वितरण, वातावरण संरक्षण तथा सरसफाई सम्बन्धी कार्य, बागमती सफाई महाअभियानलाई सफाई सामाग्री हस्तान्तरण, गैरनाफा मूलक सामाजिक संस्थाहरुलाई आर्थिक सहयोग, वित्तीय साक्षरता कार्यक्रम संचालन, डिजिटल माध्यमद्वारा बैंकिङ्ग साक्षरता, धार्मिक तथा साँस्कृतिक विकासका लागि आर्थिक सहयोग, स्थानीय निकायहरुसंग सहकार्य गरी सेवाग्राहीको हित हुनेगरी फर्निचर तथा उपकरणहरु हस्तान्तरण जस्ता विभिन्न सामाजिक कार्यहरु सम्पन्न गरेको छ ।
बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाण्डौमा आयोजित कार्यक्रमको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष तथा कार्यक्रमको अध्यक्ष भरत राज ढकालले गर्नुभयो भने सञ्चालक उमेश कुमार आचार्यले स्वागत मन्तब्य, बैंकको हालको अवस्था, प्रगति तथा विभिन्न क्रियाकलापहरु बारेमा प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र धन्यवाद मन्तब्य सञ्चालक नारायण कुमार श्रेष्ठले राख्नु भएको थियो ।
उक्त कार्यक्रममा मुक्तिनाथ विकास बैंकको संस्थागत गीत विमोचन, संस्थामा १० वर्ष सेवा अवधि पुरा गरेका ४१ जना कर्मचारीहरुलाई सम्मान पनि गरिएको थियो । सो कार्यक्रममा बैंकका सञ्चालकहरु, सेयरधनीहरु, सेवाग्राहीहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो।