उपलब्धिमूलक हुन सकेन उत्प्रेरणात्मक तालिम
स्मार्ट अखबार संवाददाता
२९ असोज २०७९
भीरकोटका सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरूका लागि नगरपालिकाले संचालन गरेको उत्प्रेरणात्मक कार्यक्रम उपलब्धिमूलक र प्रभावकारी नभएको शिक्षकहरूले प्रतिक्रिया दिनुभएको छ।
कार्यक्रममा सहभागी शिक्षकहरूले भीरकोटको आवश्यकता र समस्यालाई मध्येनजर नगरी क्याम्पसको कक्षा जस्तो शैलीमा उत्प्रेरणात्मक कक्षा संचालन गरिएको गुनासो गर्नुभएको हो। शिक्षकको चाहना र आवश्यकता भन्दा फरक शैलीमा कार्यक्रम संचालन गरिएकाले आधाजसो शिक्षकहरू कार्यक्रम नसकिदै निस्कनुभएको थियो।
करिब एक दशक देखि माध्यमिक तहमा अध्यापन गरिरहनुभएका बालोदय मा.वि. सुन्दर बजारका शिक्षक नारायण प्रसाद रेग्मीले भन्नुभयो, “शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि गर्ने र सिकाइ क्रियाकलापलाई जीवन्त बनाउने कुनै नयाँ तौरतरिका सिक्न पाइएन।आजको दिन व्यर्थ भएको महसुस भयो।”
अध्यापन क्षेत्रमा लामो अनुभव संगाल्नुभएका भु. पु सैनिक कम्युनिटी एकेडेमीका सहायक प्रधानाध्यापक हरिप्रसाद पौडेलको प्रतिक्रिया पनि उस्तै खालको छ। “कार्यक्रमको बारेमा सुन्दा जुन उत्साह बोकेर आएको थिएँ, सो अनुसारको उत्प्रेरणा र उपलब्धि भएन” , उहाँले भन्नुभयो “सैद्धान्तिक प्रवचन शैली , अन्तरक्रिया र प्रविधिको प्रयोग नगर्नाले कार्यक्रम उपलब्धिमूलक र प्रभावकारी भएन।”
सहिद शुक्र मा .वि. का शिक्षक अमृत के.सी.ले भन्नुभयो,
“नौलो कुरा केही आएन, देखे भोगे सुनेका कुरा बाहेक उत्साह जगाउने खालको केही सिक्न पाइएन।” सोचे अनुसारको उपलब्धिमूलक नभएकाले कार्यक्रमले आफुमा कुनै उत्साह नजगाएको उहाँको प्रतिक्रिया छ।
करिब २ दशक अध्यापन क्षेत्रमै आफ्नो जीवन अर्पण गर्नुभएकी जनज्योति आधारभुत विद्यालयका शिक्षिकाले भन्नुभयो, “नयाँ सिकाइ केही भएन, तालिममै सिकेका कुरा दोहोरियो।”कार्यक्रममा हलको पछाडि बस्नुभएका सहिद शुक्र मा.वि.का शिक्षक खगराज गौतमले साउण्ड सिस्टमको कमजोरीका कारण अधिकांश कुराहरू स्पष्टसँग नबुझिएको प्रतिक्रिया दिनुभयो। ३ वर्ष देखि कक्षा ११ र १२ का व्यवस्थापन संकायका विद्यार्थीहरूलाई अध्यापन गरिरहनुभएका उहाँले शिक्षण सिकाइको भन्दा पनि व्यवसाय र व्यवसायिक सफलताको कुरा बढी गरिएको बताउनुभयो।
भाग्योदय नमुना मा.वि.का सहायक प्रधानाध्यापक पूण्य प्रसाद अर्यालले भन्नुभयो, ” प्रशिक्षकहरूले देश विदेश अनुभवहरू , नेपालका विभिन्न अनुभवहरू सुनाउनु भयो, नेपाली परिवेशसँग जोड्ने कोसिस गर्नुभयो तर सोचे अनुसारको उपलब्धि भएन।” देखे भोगे अनुसारको कुराहरू दोहोरिएको उहाँको भनाइ छ। विद्यार्थीहरूमा रुचि र उत्सुक जगाउन सकियो भने सिकाइ उपलब्धिमूलक हुने आशयका कुराहरू सिकाइएको भएपनि प्रशिक्षण उपलब्धिमूलक नभएको उहाँको प्रतिक्रिया छ।
२५ वर्ष को अध्यापन अनुभव गरिसक्नुभएका भाग्योदय नमुना मा.वि. का शिक्षक ख्यामराज खनाल र ३ दशकको अध्यापन अनुभव गरिसक्नुभएका दहथुम मा.वि. का सहायक प्रधानाध्यापक तोयनाथ कोइरालाको प्रतिक्रिया एकैखाले छ। उहाँहरूका अनुसार अपेक्षा अनुसारको सिकाइ केही भएन। शिक्षकको उत्प्रेरणा जगाउन हो कि विद्यार्थीको उत्प्रेरणा बढाउन कार्यक्रमको आयोजना गरिएको हो स्पष्ट नभएको उहाँहरूको भनाई छ।
लुब्दीखोला आधारभूत विद्यालयमा अध्यापन गर्दै आउनुभएकी शिक्षक सुस्मिता अर्यालले भन्नुभयो,
“शिक्षक स्वयं कसरी उत्प्रेरित हुने, अभिभावकलाई कसरी उत्प्रेरित गर्ने , विद्यार्थीलाई कसरी उत्प्रेरित गर्ने भन्ने विषयमा केही सिकाइ भएन।” अन्तरक्रिया विहिन एकोहोरो भाषणले कुनै उत्प्रेरणा नजगाएको उहाँको प्रतिक्रिया छ।
एक दशकदेखि शिक्षण पेशामा रमाइरहनुभएका दभुङ ठाँटी मा.वि. का शिक्षक सरोज भुसालले सोचे अनुसारको उपलब्धिमूलक नभएको, उत्प्रेरित हुने खालको कुनै सिकाइ नभएको , सूचना प्रविधिको कुनै प्रयोग नभएको गुनासो गर्नुभयो।
शिक्षण पेशामा २४ वर्ष बिताइसक्नुभएका बालोदय मा.वि.का प्रिन्सिपल अमृत अर्यालले कार्यक्रम मोटिभेसनल ट्रेनिङ भन्दा पनि क्याम्पसको लेक्चरिङ जस्तो भएकाले सहभागीहरूले नकारात्मक प्रतिक्रिया दिएको बताउनुभयो।
जनप्रिय मा.वि. का प्रधानाध्यापक राजेन्द्र खाँणको प्रतिक्रिया भने केही फरक छ। १६ वर्ष शिक्षण पेशाको अनुभव बटल्नुभएका उहाँले भन्नुभयो, “सेल्फ मोटिभेटिड भयो भने विद्यालय सुधार गर्न सकिन्छ, शैक्षिक गुणस्तरमा वृद्धि गर्न सकिन्छ भन्ने कुरा सिक्न पाइयो। अपेक्षाकृत नभएपनि कार्यक्रम उपलब्धिमूलक नै थियो ।”
कार्यक्रममा सहभागिहरूको प्रतिक्रिया सुनेपछि नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले पहिलो उत्प्रेरणात्मक कार्यक्रम भएकाले केही कमजोरी भएको स्वीकार गर्दै आगामी कार्यक्रमहरू प्रभावकारी र उपलब्धिमूलक बनाइने बताउनुभयो। शिक्षाको गुणस्तर सुधार्न नगरपालिका प्रतिबद्ध भएको बताउँदै उहाँले सरोकारवाला सबैको सहकार्य भएको खण्डमा र शिक्षकहरूले मिहिनेत गरेको खण्डमा आशातित उपलब्धी प्राप्त गर्न सकिने कुरामा जोड दिनुभयो।
भीरकोट नगरपालिकाको आँधिखोला सिटी हलमा सम्पन्न भएको उत्प्रेरणात्मक तालिममा २ सय ७१ जनाको सहभागिता रहेको शिक्षा अधिकृत नवीन थापाले जानकारी दिनुभयो। सहभागीहरूलाई प्रशिक्षक रामचन्द्र के.सी. र नवराज पौडलले प्रशिक्षण दिनुभएको थियो।