प्रयोगकर्ता कै वेवास्ताका कारण ओझेलमा मातृभाषा

माघ ०२, २०८१     नारायणप्रसाद कोइराला


मदरसामा उर्दु /अरबी भाषा पढ्दै मुस्लिम समुदायका बालबालिका 

बालोदय मा. वि. , भीरकोटमा  कक्षा १० अध्ययनरत एकता मगर नेपाली , अंग्रेजी राम्रोसँग बोल्न, लेख्न पढ्न सक्नुहुन्छ। तर उहाँलाई आफ्नै मातृभाषा कत्ती पनि आउँदैन्। उहाँलाई मात्र होइन , उहाँको सहपाठी आरूष मगर, धन बहादुर मगर र  ममिता मगरलाई  नेपाली , अंग्रेजी भाषा बोल्न, लेख्न,पढ्न आउँछ तर आफ्नै मातृभाषा कत्तिपनि आउँदैन्।

पब्लिक एकेडेमी मा.वि. मा कक्षा ७ मा अध्ययनरत सृजना गुरूङलाई पनि नेपाली,  अंग्रेजी भाषा पढ्न, लेख्न र बोल्न आउँछ तर गुरुङ भाषा खासै आउँदैन। पायोनिअज आवासीय मा.वि. वालिङमा एच.ए. अध्ययनरत सम्झना कर्माचार्यलाई नेवारी भाषा कत्ती पनि आउँदैन। भू.पु. सैनिक कम्युनिटी एकेडेमी , बयरघारीमा कक्षा ११ मा अध्ययरत अनुपा श्रेष्ठलाई पनि मातृभाषा नेवारी बोल्न, पढ्न , लेख्न आउँदैन।

एकता, अनुपा,सृजना, धनबहादुरलाई मात्रै होइन आजभोलिका धेरैजसो नयाँ पुस्तालाई आफ्नो मातृभाषा पढ्न, लेख्न र बोल्न आउँदैन। तर भू. पु. सैनिक एकेडेमी, बयरघारीमा कक्षा १२ मा अध्ययनरत  मुस्लिम  समुदायका महमद अकबर अलिलाई आफ्नो भाषा राम्रोसँग बोल्न, लेख्न र पढ्न आउँछ। कारण अलिको समुदायका हरेक बालबालिकालाई अरबी र उर्दु भाषा  अनिवार्य पठनपाठन गराइन्छ। विद्यालय समयका अतिरिक्त  मदरसामा बालबालिकाले अरबी र उर्दु पढ्छन्।

अनुपाले घरमा  कसैले मातृभाषा नेवारी  नबोल्ने र कहिकतै पनि भाषा सिक्ने वा पढ्ने अवसर नपाएको कारण नेवारी भाषा नजानेको बताउनुभयो। धनबहादुरको समुदायमा बुढापाका मात्रै मगर भाषा बोल्छन् । आरूष र एलिसा मिश्रित समुदायमा बस्नुहुन्छ जहाँ कोही पनि मातृभाषामा कुराकानी गर्दैनन् ।

गण्डकी प्रदेश सरकारले मगर र गुरुङ भाषालाई सरकारी काम काजको भाषा बनाउने कानुन निर्माण गर्न बहस चलाइरहेका बेला गण्डकी प्रदेशमा सबैभन्दा बढी बोलिने मातृभाषाहरू नै नयाँ पुस्ताले सिक्ने मौका पाइरहेका छैनन् । संविधानमा मातृभाषामा शिक्षा दिने व्यवस्था भएपनि यसको व्यवहारिक कार्यान्वयन पक्ष एकदमै फितलो छ। संविधानको धारा ३१ को उपधारा ५ मा भनिएको छ, ” नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानून बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुनेछ ।”

तर मातृभाषाको संरक्षण र विकासमा न त  सरकारहरूले ध्यान दिएका छन् न त उक्त मातृभाषा बोल्ने समुदायले नै। स्थानीय स्तरमा कहिलेकाही संचालन हुने भाषा प्रशिक्षण कक्षाहरू केवल समाचारमुखी र देखावटी मात्रै छन्।

संस्कृतिविद् डा. तुलसीराम खनालले मातृभाषा हाम्रो पहिचान भएकाले यसको संरक्षणमा विशेषगरी भाषा प्रयोग गर्ने समुदायले नै चासो दिनुपर्ने बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “जब कुराकानी हुन छोड्छ भाषा मर्छ।अंग्रेजी मोह, वैदेशिक रोजगारी, सहरीकरण र बसाइँसराइले गर्दा मातृभाषाको प्रयोगमा कमि आएको छ। हरेक समुदायले आफ्नो घरमा मातृभाषा अनिवार्य प्रयोग गर्ने हो भने स्वतः नयाँ पुस्ताले आफ्नो भाषा सिक्न पाउँछन्।” यसबाहेक स्थानीय स्तरमा भाषा प्रशिक्षणका कक्षाहरू संचालन गर्ने हो भने भाषा संरक्षण र उपयोगमा मद्दत पुग्छ। प्रज्ञाप्रतिष्ठानमा मार्फत पनि भाषा संरक्षणका कार्यक्रम संचालन गर्न सकिने उहाँको बुझाई छ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागका भाषा विज्ञानका विद्यार्थी मोहन गुरूङ भन्नुहुन्छ, ” वक्ताहरूको कमीकै कारण मातृभाषाहरू लोपोन्मुख अवस्थामा पुगेका छन्। मातृभाषाको मानकीकरण, पुस्तान्तरण र हस्तान्तरण हुन नसक्दा मातृभाषाको प्रयोगमा कमी आएको छ। मातृभाषा हाम्रो पहिचान भएपनि जनजिविकाको भाषा हुन नसक्दा युवा पुस्ताले अंग्रेजी , जापानी , कोरियन , हिन्दी भाषालाई प्राथमिकता दिन थालेका छन्। सबै तहका सरकारले मातृभाषा प्रयोग गर्ने परिवार र व्यक्तिको घरसम्म पुग्ने खालको नीति र कार्यक्रम नल्याएसम्म मातृभाषाको संरक्षण र उपयोगितामा समस्या हुन्छ।”

मातृभाषाको संरक्षण र सदुपयोग गर्नका लागि  आधारभूत शिक्षा मातृभाषामै दिन जरूरी छ। स्थानीय पाठ्यक्रममा समेत मातृभाषालाई प्राथमिकता दिन सके मातृभाषाको संरक्षण र प्रयोगमा टेवा पुग्ने देखिन्छ।यसका साथै मातृभाषा संरक्षणमा संघीय, प्रदेश र स्थानीय सरकारहरूले पनि चासो दिनु जरूरी छ। जुन मातृभाषा बोल्ने समुदायको व्यक्ती हो उसले सरकारी कामकाजमा सोही भाषा बाहेक अन्य भाषा प्रयोग गर्न नपाउने हो भने भाषा संरक्षणमा निकै सहयोग पुग्छ। मातृभाषाको संरक्षण र सदुपयोगमा भाषा प्रयोग गर्ने समुदायकै व्यक्तिहरू सक्रिय रूपमा लाग्नुपर्ने देखिन्छ।

( बालबालिकाको हकलाई मध्यनजर गर्दै समाचारमा  प्रयोग भएका बालबालिकाको वास्तविक  नाम परिवर्तन गरिएको छ।)