स्याङ्जाको छाङ्छाङ्दीमा साउनमा मात्रै १४ लाख भेटी संकलन
स्याङ्जाको छायाँक्षेत्र शिव मन्दिर ९छाङ्छाङ्दीमा साउन महिनामा मात्रै १४ लाख रुपैयाँ भेटी संकलन भएको छ । भीरकोट नगरपालिका वडा नम्बर ४ छाङ्छाङ्दीमा रहेको उक्त शिवमन्दिरमा साउनको सोमबार आउने भक्तजनबाट भेटी संकलनभएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले जानकारी दिनुभयो ।
मन्दिरमा दर्शनका लागि आउने भक्तजनले दान गरेको, सहयोग रसिद, आजीवन सदस्यता, चामल बिक्री, पार्किङ व्यवस्थापन, बजार बिक्री कर, भजन मण्डली, दानपेटिका, द्रुत सेवा र क्युआर कोडमार्फत उक्त भेटी संकलन भएको हो ।
मन्दिरमा भजन मण्डलीद्वारा भजनकीर्तन गरिने हुँदा त्यहाँ धेरै भक्तजनले भेटी चढाउने गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । विभिन्न शीर्षकबाट संकलन भएको भेटीलाई बैंकिङ प्रणालीमार्फत खर्च गर्ने गरिएकाले पारदर्शितामा समितिले ध्यान दिएको उहाँको दाबी छ।
“संकलन भएको भेटीको सही सदुपयोग गरी सोहीमार्फत मन्दिरमा पूजापाठ सञ्चालन गर्ने, भौतिक पूर्वाधार विस्तार गर्ने गरिएको छ”,उहाँले भन्नुभयो।
दिवङ्गत भएकी पत्नी पार्वतीको शव लिएर हिँड्नेक्रममा बाँकी रहेको अन्तिम अंग पनि पतन भएपछि पत्नी वियोगमा ब्याकुल बनेका महादेवले त्रिशूल प्रहार गरी पानी निकालेको र सोही पानी पत्थर भित्रैभित्रबाट छङ्छङ् गर्दै झरेकाले यसको नामकरण ‘छाङ्छाङ्दी’ भएको धार्मिक विश्वास रहेको छ ।
यस मन्दिरमा स्याङ्जासहित पोखरा, पाल्पा, बुटवल, चितवन, बागलुङ, पर्वत, तनहुँलगायत स्थानबाट दर्शनार्थी आउने गरेका छन् ।