प्रदेश सांसद मल्लको पहलमा मिर्दी भिमाद सडक योजनालाई ८ करोड

युवराज पौडेल
स्याङ्जा, असार ३२
चापाकोट नगरपालिका अन्तर्गत पर्ने मिर्दी, भिमाद, जगत, दार्सिङ किटिया खण्ड विगत ५ वर्षदेखि रोकिएको पौम्दीसम्मको कालोपत्रे गर्ने कार्यक्रमका लागि गण्डकी प्रदेशले ०७९/८० को सङ्घीय समपूरक कार्यक्रम अन्तर्गत रु ८ करोड विनियोजन गरेको छ । गण्डकी प्रदेश सांसद भागवत् प्रकाश मल्लको विशेष पहलमा यो रकम विनियोजन भएको हो ।

केन्द्र सरकारबाट प्रदेश सरकारमा भौतिक पूर्वाधार योजना अन्तरगत केन्द्रीय सरकार प्रदेशमा हस्तान्तरण गरिएका योजनामध्ये ससर्त अनुदान योजना अन्तरगत परेको यो कार्यक्रमबाट स्याङ्जाका मिर्दी, हरिनास, वालिड, चापाकोट, बिरुवा र तनहुँका भीमादका नागरिक लाभान्वित हुने भएका छन् । यो योजनाका लागि ८ करोड विनियोजन भएसँगै यी क्षेत्रका जनतामा खुसी छाएको छ ।
केन्द्र सरकारले यो योजनालाई विभिन्न वहानामा पटक पटक पन्छाउने काम गरेको थियो । योजना सुरु भएर काम रोकिएको यो सडकको काम पुन त्यही बिन्दुबाट सुरु हुने भएको छ ।