एमसिसि नेपालको हितमा छ : प्रधानमन्त्री देउवा
भीरकोट खबर डेस्क, कार्तिक ३
प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारलाई अदालतले परमादेश र जनादेश दुबै प्राप्त रहेको बताउनुभएको छ।यसैगरी उहाँले अमेरिकी अनुदान सहयोग एमसिसी विशुद्व नेपालको हितमा भएको प्रष्ट पार्नुभएको छ।
केपि शर्मा ओलीको सरकारले गरेको संसद विघटन सर्बोच्चले असंवैधानिक ठहर गरि प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरे पछि केपि ओलिले आफ्नो सत्ता छोड्नु परेको थियो र प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त हुनुभएको थियो। प्रधानमन्त्रीमा नियुक्ति भएदेखी वर्तमान सरकारलाइ प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले परमादेशको सरकार भन्दै आलोचना गर्दै आएको छ।
गोरखापत्र दैनिकलाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको सरकारलाई परमादेश र जनादेश दुबै प्राप्त रहेको र एमसिसी नेपालीको हितमा छ भन्नुभएको छ। प्रधानमन्त्री देउवाले एमसिसी ऋण नभै नेपालको विकासका लागि अमेरिकाले दिने अनुदान सहयोग भएकाले राष्ट्रका हितमा रहेको र यो परियोजना जुनकुनै हालतमा पनि पास गर्नुपर्ने बताउनुभएको छ। उहाँले भन्नुभएको छ , “एमसिसि राष्ट्रको हितमा नभई राष्ट्र विरोधि हो भन्दै नारा र जुलुस निकालेर यसलाइ तोडमोड गर्न लागिएको छ। यो परियोजना नेपालको हितमा भएकाले कसैले पनि विरोध र बहस गर्नुपर्ने जरुरी नभएको बताउनुभएको छ।” सबै एकजुट भएर यो परियोजना पास गर्नको लागि प्रधानमन्त्री देउवाले आव्हान गर्नुभएको छ।