दुई साहित्यिक कृतिको संयुक्त लोकार्पण
स्मार्ट सम्वाददाता, स्याङ्गजा
९ मसिंर २०८०, शनिवार
स्याङ्जाली साहित्यकार शम्भु अर्याल र मिलन समीरका दुई साहित्यिक कृतिको एकैसाथ लोकार्पण गरिएको छ। साहित्यकार अर्यालको “मौन आवाज” र समिरको “मिलन समीर र मिलन समिरहरू ” वालिङमा आयोजित एक कार्यक्रमकाबिच लोकार्पण गरिएको हो। दुबै साहित्यिक कृतिको लोकार्पण साहित्यकारहरू श्री ओम श्रेष्ठ “रोदन” , विवश पोख्रेल र दुवै श्रष्ठाका आमाहरूले संयुक्त रूपमा गर्नुभएको थियो।
वालिङ नगर प्रमुख कृष्ण खाँणले नयाँ कृति प्रकाशन गर्न सफल स्याङ्जाली स्रष्टाहरूलाई शुभकामना र बधाई व्यक्त गर्दै स्रष्टाहरू साहित्य, समाज र राजनीतिलाई समेत दिशानिर्देश गर्ने तरिकाले अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउनुभएको थियो।
सर्जक शम्भु अर्यालको आत्मपरक निबन्ध संग्रह “मौन आवाज” माथि साहित्यकार अनन्त अर्यालले समिक्षात्मक टिप्पणी गर्नुभएको थियो। ३३ वटा निजात्मक र आत्मपरक शैलीका निबन्धहरू समेटीएको “मौन आवाज” कृतिमा समाजको यथार्थता, मानवता र आत्मपरकता पाइने साहित्यकार एवं समीक्षक अर्यालले बताए।
समीक्षक कुमार रानाले मिलन समीरको नविनतम काव्य कृति ” मिलन समीर र मिलन समीरहरू ” कृति माथि समीक्षा गर्नुभएको थियो। यथार्थवादी कवि समीरका कविताहरूमा देश र समाजको वर्तमान परिवेशप्रति गुनासा, व्यथा , विद्रोह र व्यङ्ग्य , समाजको प्रश्न संस्कृती सँगसँगै समाज, देश असल बनोस् भन्ने आसय व्यक्त गरिएको समीक्षक रानाको टिप्पणी थियो।
वालिङ प्रज्ञाप्रतिष्ठानको आयोजनामा भएको “कृति लोकार्पण , विमर्श एवम् स्रष्टा सम्मान तथा विशेष काव्य वाचन समारोहमा” बसन्ती अधिकारी , स्मारिका अर्याल, सुदिप सुवेदी, लक्ष्मी रेग्मी खनाल, कला पाठक, दिलिप तिवारी, सिजन अर्याल, उदय अतित , नारायण विश्वकर्मा “आक्रोश” लगायतका स्रष्टाहरूले काव्य रचनाहरू वाचन गर्नुभएको थियो। कार्यक्रममा स्थानेश्वर अर्याल स्मृती साहित्यिक पुरस्कारद्वारा मोरङका साहित्यकार विवश पोख्रेललाई पुरस्कृत गरिएको गरिएको थियो।