स्वास्थ्य शिविरबाट ३ सय भन्दा बढी सेवाग्राही लाभान्वित
फागुन २६, २०८०

२६ फागुन २०८०, शनिबार
लायन्स क्लब अफ भीरकोटको आयोजनामा भीरकोट नगरपालिका, हेलुमा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।क्लबको नियमीत वार्षिक कार्ययोजना अन्तर्गत फाल्गुन २६ गते शनिबारको दिन भीरकोट नगर अस्पताल हेलुमा स्वास्थ्य शिविरको आयोजना गरिएको थियो।
नगर अस्पतालका उपकरण र विशेषज्ञ सहित उपचार सेवा प्रदान गरिएको स्वास्थ्य शिविरबाट ३ सय २३ जनाले स्वास्थ्य सेवा लिएको क्लबका अध्यक्ष याम प्रसाद अधिकारी (लक्ष्मण) ले स्मार्ट अखबारलाई जानकारी दिए। लायन्स क्लब अफ भीरकोट स्याङ्गजाको आयोजना, गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोग तथा भीरकोट नगरपालिका, पुतलीबजार नगरपालिका र अर्जुनचौपारी गाउँपालिकाको समन्वयमा स्वास्थ्य शिविर संचालन भएको थियो । भीरकोट नगर अस्पतालमा शनिबार बिहान १० बजे देखि दिउसो ४ बजे सम्म शिविर संचालन भएको शिविरमा औषधि सहयोग प्रशन्ना मेडिको फर्मा, बयरघारीले गरेको थियो।
शिविर संयोजक प्रदिप आलेका अनुसार शिविरमा जनरल फिजिसियन डाक्टर सरोज थापा, रेडियोलोजिस्ट डाक्टर राजु रेग्मी, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर उमेश भट्ट, महिला तथा प्रशुती रोग बिशेषज्ञ डाक्टर स्मारिका आचार्य, नाक, कान, घाँटीरोग विशेषज्ञ डाक्टर आदित्य दाहाल र भीरकोट नगर अस्पतालका डाक्टर राजिब झा लगायतले उपचार सेवा प्रदान गरेका थिए।
भीरकोट नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले शिविरको उद्घाटन गर्दै नगरपालिकाले नागरिक स्वास्थ्यलाई नगरपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको बताए। जनताको स्वास्थ्यप्रती चासो देखाउँदै स्वास्थ्य शिविर संचालन गरेकोमा नगर प्रमुख कर्माचार्यले आयोजक संस्था लायन्स क्लब अफ भीरकोटलाई आभार प्रकट गरेका थिए।
(आयोजक संस्थाले यस अघि सेवाग्राहीको संख्या २३३ भनेको थियो तर केही विवरण छुटेको भनी आयोजकले नै नयाँ तथ्यांक उपलब्ध गराएकोले सोही अनुसार विवरण सच्चाइएको छ। – सम्पादक)