अर्जुन चौपारीमा पुस्तकालय स्थापना

भदौ ०३, २०८१     स्मार्ट संवाददाता


विश्व हिन्दु युवा संघ स्याङ्जाले  अर्जुन चौपारी गाउँपालिकाको कार्यालय भित्र पुस्तकालय स्थापना गरेको छ। गाउँपालिकाको विशेष सहयोगमा विश्व हिन्दु युवा संघको पहलमा पुस्तकालय स्थापना गरिएको हो। युवा पुस्तालाई सनातन धर्म संस्कृतिको महत्त्व र गरिमा बुझाउन र पठन संस्कृतिको विकास गर्न पुस्तकालय स्थापना गरिएको संघका अध्यक्ष नवराज पौडेलले जानकारी दिनुभयो।



संघले  सनातन धर्म संस्कृतिको संरक्षण गर्न र पूर्वीय धर्म संस्कृति र दर्शनको प्रचारप्रसार गर्न जिल्लाका हरेक पालिकामा आध्यात्मिक  ,सनातन धर्म संस्कृतिका पुस्तकहरूसहितको पुस्तकालय स्थापना गर्ने कार्यलाई प्राथमिकता दिइरहेको छ। पुस्तकालयमा   चार वेद,निर्णय सिन्धु,धर्म सिन्धु, गिता,विश्व इतिहास,नेपाली इतिहास,बाल साहित्य, कथा,उपन्यास लगायतका पुस्तकहरू राखिएका छन्। पुस्तकालयमा करिब ७ सय पुस्तकहरू उपलब्ध छन्।



सबै पुस्ताका पाठकको रूचीलाई मध्यनजर गर्दै पुस्तकालयमा नेपाली, संस्कृत र अंग्रेजी भाषाका उपयोगी र महत्त्वपूर्ण किताबहरू राखिएका छन्। पुस्तकालय आइतबार देखि  शुक्रबारसम्म कार्यालय समयमा खुला रहने र यसको व्यवस्थापन गाउँपालिकाले नै गर्ने अध्यक्ष पौडेलले बताउनुभयो। गाउँपालिकाले पुस्तकालय संचालन तथा व्यवस्थापनमा सहयोग  गरेकोमा अध्यक्ष पौडेलले गाउँपालिकाप्रती आभार व्यक्त गर्नुभएको छ।विश्व हिन्दु युवा संघ स्याङ्जाले जिल्ला भरी हरेक पालिकालाई नैतिक तथा संस्कार शिक्षा लागू गराउन  अपिल गरेको छ।

गाउँपालिकाले शैक्षिक सुधारलाई अभियानकै रूपमा अगाडि बढाइरहेको छ। गाउँपालिकाले सुधारका प्रयास, भएका परिवर्तनका साथसाथै   आधारभूत र  माध्यमिक तहको नतिजाको तथ्यांक सहित तत्काल सामाजिक संजालमा  प्रकाशन समेत गर्ने गरेको छ। यसको अनुसरण जिल्लाका अन्य स्थानीय सरकारहरूले समेत गर्न थालेका छन्। शैक्षिक सुधार अभियान   अन्तर्गत पुस्तकालय संचालन र व्यवस्थापनमा विश्व हिन्दु युवासंघसँग सहकार्य गरिएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो। शैक्षिक गुणस्तर वृद्धि र नागरिक चेतनाको विकासमा पुस्तकालयले सहयोग पुर्‍याउने अध्यक्ष तिवारीको विश्वास छ।