रवि लामिछाने धरौटीमा रिहा
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एंव पूर्वगृहमन्त्री रवि लामिछाने धरौटीमा रिहा हुनुभएको छ । जिल्ला अदालत कास्कीको आदेशपछि लामिछाने कास्की प्रहरीको हिरासतबाट मुक्त हुनुभएको हो।
बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा लामिछानेबाट ६५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो ।
अदालतले तोकेको उक्त धरौटी बुझाएर लामिछाने बिहीबार साँझ रिहा भएको समाचार राष्ट्रिय संचार माध्यमहरूले प्राथमिकता साथ प्रकाशन र प्रसारण गरेका छन्। गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ पर्नुभएका लामिछानेलाई अनुसन्धानका लागि भन्दै प्रहरीले ८४ दिनसम्म हिरासतमा राखेको थियो।
संचारकर्मीहसँग संक्षिप्त प्रतिक्रिया दिदैं सभापति लामिछानेले रास्वपाका शुभेच्छुक सबैलाई धन्यवाद दिनुभएको छ। उहाँले न्यायपालिका र न्यायप्रणाली प्रती आफू विश्वस्त भएको बताउनुभएको छ। उहाँले आफ्नो मूद्दाका विषयमा केही नबोल्ने तर मौका आएपछी बोल्ने बताउनुभएको छ।
सरकारले प्रतिशोध साँधेर फसाउन खोजेको भन्दै रास्वपाले उहाँ पक्राउ परेदेखी नै निरन्तर आन्दोलन गर्दै आएको थियो। उहाँको रिहाइको खुशीयालीमा कार्यकर्ताहरूले पोखरामा प्रदर्शन समेत गरेका थिए।
लामिछानेलाई अन्य जिल्ला अदालतमा दर्ता भएका मुद्दाको प्रक्रियाका लागि स्वयं उपस्थित हुने सर्तमा कास्की अदालतले रिहा गर्न आदेश दिएको हो । उहाँलाई पोखरास्थित गण्डकी अस्पतालमा स्वास्थ्य परीक्षण गराएर प्रहरीले परिवारको जिम्मा लगाएको हो ।