क्षत्री समाजद्वारा शुभकामना आदानप्रदान


क्षत्री समाज , नेपालले यस वर्षको दशैंको शुभकामना आदानप्रदान कार्यक्रम एवं क्षत्री दिवस घटस्थापनाको भोलिपल्ट मात्रै सम्पन्न गरेको छ। देशका विभिन्न भागमा बाढी र पहिरोको विपत्तिका कारण देश शोकमग्न रहेकोले कार्यक्रमलाई ढिला गरेर गरिएको समाजका अध्यक्ष क्याप्टेन मीन बहादुर के.सी.ले जानकारी दिनुभयो।समाजले दशैं पर्वलाई भड्किलो नबनाउन र स्वास्थ्यको ख्याल राख्नसमेत अनुरोध गरेको छ। कार्यक्रममा प्राकृतिक विपदमा परेर ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको थियो।

शुभकामना आदानप्रदानको अवसरमा समाजका सचिव लेख बहादुर के.सी.ले समाजको अग्रसरतामा निर्माण हुन लागेको बहुउद्देश्यीय सामुदायिक भवन निर्माणमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण क्षेत्री समुदाय र शुभेच्छुकहरूलाई सहयोग गर्न अनुरोध गर्नुभयो। सो भवन भीरकोट नगरपालिकाका सबै समुदायले प्रयोग गर्न पाउने साझा भवन हुने सचिव के.सी. ले जानकारी दिनुभयो।३ करोड लागत अनुमान गरिएको सो भवन ७ हजार १ सय ६५ बर्गफिट क्षेत्रफलमा बन्ने छ। ३ तलाको संरचनामा समेटिने भवनको सभाहलमा कम्तिमा पनि ६ सय जना अट्ने समाजका अध्यक्ष मीन बहादुर के.सी. ले स्मार्ट अखबारलाई जानकारी दिनुभयो।
समाजका केन्द्रीय सदस्य भक्त बहादुर के.सी., मिठू अधिकारी, सीता अधिकारी, डिल बहादुर रोकाहा, वडा नम्बर १ का अध्यक्ष एवं नगर प्रवक्ता दीपेन्द्र के.सी., र इन्दिरा के.सी. लगायतका व्यक्तिहरुले शुभकामना व्यक्त गर्नुभएको थियो। ।
शुक्रबार नै बयरघारीमा स्थापना गरिएको क्षत्री समाज नेपाल, भीरकोटको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ। समाजका केन्द्रिय सदस्य भक्तबहादुर के.सी. ले समाजको सम्पर्क कार्यालयको उद्घाटन गर्दै भवन निर्माण सम्पन्न हुने बेलासम्म उक्त स्थानमा सम्पर्क कार्यालय रहने बताउनुभयो।
क्षत्री समाजले जातीय संगठनभन्दा माथि उठेर सामाजिक एकता र सद्भावलाई प्राथमिकता दिएको र यसै अवधारणामा बहुउद्देश्यीय भवन निर्माणको योजना अघि बढाइएको जानकारी दिइएको छ।
