भीरकोटमा आलु र गहुँको बिउ वितरण

कार्तिक २०, २०८०


२० कात्तिक २०८०, सोमबार  

जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी

भीरकोट नगरपालिकाले आलु  गहुँको बीउ समयमै वितरण गरेको छ। कृषकहरूको माग बमोजिम खरिद गरिएका  आलु र गहुँको बीउ नगरपालिकाको बिउबिजन वितरण गर्ने स्थान दूध डेरी सँगै रहेको स्टोरबाट वितरण गरिएको छ l

किसानहरूको माग बमोजिम करिब २२ हजार केजी आलु र ४ हजार केजी गहुँको बिउ वितरण गरिने निमित्त कृषि शाखा प्रमुख सुजना पौडेलले स्मार्ट अखबारलाई बताइन्  l  उनका  अनुसार कार्डिनल, जनकदेब र एम एस ४२ जातको आलुको बीउ खरिद गरिएको छ। पालिकाले ५० प्रतिशत अनुदान दिँदा किसानले कार्डिनलको प्रतिकेजी ३५ रूपैयाँ , जनकदेब प्रतिकेजी ३२.५०  रूपैयाँ र एम एस ४२ को प्रतीकेजी ३४  रूपैयाँ  तिर्नुपर्ने छ l यसैगरी गौतम जातको गहुँको बिउ पनि वितरण गरिएको छ l यो वर्ष किसानाहरूको माग बमोजिम ४ हजार केजी गहुँको बिउ वितरण गरिने कृषि शाखाले जनाएको छ l ५० प्रतिशत अनुदान दिँदा किसानले गहुँ ३५ प्रतिकेजी रुपैयाँमा खरिद गर्न सक्ने छन् l बिउ खरिद गर्नुभन्दा पहिले नै ५० प्रतिशत रकम बुझाएका किसानहरूलाई मागबमोजिम बिउ उपलब्ध गराइने नगरपालिकाले जनाएको छ l

भीरकोट कृषि शाखाका अनुसार कार्डिनल १५ हजार केजी , जनकदेब ६ हजार ६ सय ५० केजी र  र एमएस ४२  ५ सय ७०  केजी खरिद गरिएको छ। आइतबार बिउ बितरण शुभारम्भ गर्दै  नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले कृषकहरूलाई तरकारी खेती र बिउ उत्पादनमा आत्मनिर्भर बन्न अनुरोध गरे l गहुँ र  आलुको बिउ उत्पादनलाई प्राथमिकता दिन र आलुको बिउ तयार भएपछि नगरपालिकासँग सम्पर्क गर्न सुझाव दिएका थिए l कृषकले उत्पादन गरेको बिउ सुरक्षित भण्डारण गर्न नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाउँदै उनले  स्थानीय स्तरमा उत्पादित बिउ गुणस्तरीय र सस्तो पनि हुने बताए l व्यवसायिक खेती गर्न चाहने किसानलाई सकेसम्म निशुल्क  माटो परीक्षण र बिउ बिजन वितरण गरिने उनको भनाई छ l

सरकारले मध्यपहाडी क्षेत्रका लागि सिफारिस गरेका आलु र गहुँको गुणस्तरीय बिउ बितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले जानकारी दिए l बिउको सुरक्षित ओसारपोसार र भण्डारण गर्न र  गुणस्तरमा कुनै समस्या भएमा नजिकको जनप्रतिनिधि वा प्राविधिकलाई जानकारी गराउन पालिकाले अनुरोध गरेको छ l