सुन्तला बेच्नुस्, अरब नजानुस् : कृषि मन्त्री भुसाल

असार ०४, २०८०


नारायण प्रसाद कोइराला, स्याङ्जा 
४ असार २०८०, सोमबार

कृषि तथा पशुपन्छी मन्त्री डा. वेदुराम भुसालले स्याङ्जाली कृषकहरूलाई व्यवसायिक सुन्तला खेती गरी उदाहरणीय बन्न र अरूलाई पनि सिकाउन आग्रह गरेका छ्न्। स्याङ्जाको भीरकोटमा आयोजित सुन्तला सुपरजोनको क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत सुन्तला रोपण अभियानको शुभारम्भ गर्दै उनले भने, “स्याङ्जामा सुन्तलाको अधिक सम्भावना छ, सुन्तलाको व्यवसायिक उत्पादनमा लाग्नुस्, अरब नजानुस् ।” अरबौंको सुन्तला उत्पादन हुने आफ्नो ठाउँ छोडेर सिमित पैसा कमाउन विदेश जानू मुर्खता भएको मन्त्री भुसालले बताए । स्याङ्जा सुन्तला खेतीका लागि एक उत्कृष्ट ठाउँ भएको र सुन्तलाबाट नै स्याङ्जा र स्याङ्जालीको समृद्धि सम्भव रहेको बताउँदै उनले बाँझो जमिनको सदुपयोग गरी पशुपालन, फलफुल लगायतका व्यवसायिक कृषि उत्पादनमा लाग्न कृषक र स्थानीय सरकारलाई आग्रह गरेका छ्न् ।

तीनै तहका सरकारबिच सहकार्य भएमा मात्रै जनताले अनुभुती गर्ने गरी विकास र समृद्धि हासिल गर्न सकिने कृषि मन्त्री भुसालको भनाई छ । बाँदर नियन्त्रणका लागि नीति तथा कार्यक्रम र बजेटमा समेत सम्बोधन भैसकेको बताउँदै उनले अब आवश्यक कानुन बनाएर कृषकलाई राहत हुने गरी काम गर्न मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी दिए । वन क्षेत्र आसपासका कृषकहरूलाई बाँदरले नखाने खेती लगाउन र स्थानीय सरकारलाई पनि कृषकको आवश्यकता अनुसार काम गर्न उनले सुझाव दिएका छ्न् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्याङ्जाको आयोजनामा भीरकोट ५ केराबारीमा आयोजित सुन्तला रोपण अभियान शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जि.टी, भीरकोट नगरपालिकाका नगर प्रमुख गोविन्द कुमार कर्माचार्य, नेपाली काँग्रेस भीरकोट नगर सभापति याम प्रसाद अधिकारी, सुन्तला सुपरजोन स्याङ्जाका अध्यक्ष तारा अर्याल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्याङ्जाका प्रमुख माधव लम्साल, परियोजनासँग सम्बन्धित कार्यालयका कर्मचारीहरू र स्थानीय कृषकहरूको उपस्थिती रहेको थियो । भीरकोट ५ केराबारीमा करिब २ सय रोपनी क्षेत्रफल चक्लाबन्दी गरेर सुन्तलाको क्षेत्र विस्तार गर्न लागिएको छ ।

बिज्ञापन

स्याङ्जाको भीरकोटमा करिब १५ हेक्टर क्षेत्रफलमा सुन्तलाको क्षेत्र विस्तार गरिएको सुन्तला सुपरजोन स्याङ्जाका अध्यक्ष तारा अर्यालले जानकारी दिए । यस आर्थिक वर्षमा स्याङ्जामा १ अरब ३८ करोड बराबरको सुन्तला उत्पादन भएकोमा १ अरब भन्दा बढीको सुन्तला निर्यात भएको प्रधानमन्त्री कृषि आधिनिकिकरण परियोजना स्याङ्जाका प्रमुख माधव लम्सालले जानकारी दिए । स्याङ्जामा २ हजार १ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । प्रविधिमैत्री क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत थप ५० हेक्टर क्षेत्रमा र चक्लाबन्दी अन्तर्गत थप ४० हेक्टर क्षेत्रमा सुन्तला रोप्न लागिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्याङ्जाका प्रमुख माधव लम्सालले जानकारी दिए ।

त्यस्तै प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (PLGSP) गण्डकी प्रदेश र भीरकोट नगरपालिकाको साझेदारीमा संचालित नवप्रवर्तन साझेदारी कोष कार्यक्रम (IPF) अन्तर्गत भीरकोट नगरपालिकाको वडा नं १ र ७ मा व्यवसायिक सुन्तला खेती कार्यक्रम सञ्चालनमा आएको छ । जस अन्तर्गत व्यवसायिक सुन्तला खेतीका लागि लाभग्राही कृषक छनोट भई उनीहरूलाई तालिम पश्च्यात, बागवानी औजार वितरण, सिंचाई टंकी निर्माण, सिंचाई का लागि पाइप वितरण गरी करिब १० हजार विरुवा रोपण गर्ने तयारी भइरहेको छ ।