कालिका बचत तथा ऋण सहकारीको १८औं वार्षिक साधारणसभा सम्पन्न
भीरकोट नगरपालिका वडा नं. -१ हेलुमा अवस्थित कालिका बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १८औं वार्षिक साधारणसभा भव्य रूपमा मनाएको छ। यस अवसरमा प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्व शिक्षामन्त्री मेखलाल श्रेष्ठले सहकारीको सिद्धान्तलाई इमानदारीपूर्वक पालना गर्दै सहकार्य गरिए सहकारी अभियान सफल हुने बताउनु भयो। कालिका सहकारीले शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गरेकोमा पनि उहाँले खुशी व्यक्त गर्नुभयो।
संस्थाको स्थापना र विकास
वि.सं. २०६३ मा दर्ता भई २०६५ सालको भाद्र ५ गतेदेखि व्यवसायिक कारोबार सुरु गरेको कालिका सहकारीको स्थापना समयमा २६ जना शेयर सदस्य रहेका थिए, जसको पूँजी २ हजार ६ सय रुपैयाँ मात्र थियो। अहिले सहकारीले भीरकोट नगरपालिका, वालिङ नगरपालिका, पुतलीबजार नगरपालिका, र अर्जुनचौपारी गाउँपालिकामा सेवा प्रदान गरिरहेको छ। हाल सहकारीमा २ हजार ७ सय २१ जना शेयर सदस्य छन् र शेयर पूँजी ४ करोड ६९ लाख ४२ हजार रुपैयाँ पुगेको छ।
आर्थिक कारोबार र मुनाफा
सहकारीले आर्थिक वर्ष २०८१/८१ मा २९ करोड ५८ लाख ३४ हजार ३ सय ४७ रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको छ। जसमा १ करोड ३० लाख ५४ हजार ४ सय १३ रुपैयाँ मुनाफा कमाएको छ। संस्थाका अध्यक्ष भविश्वर कोइरालाले सहकारी अभियानलाई अझ प्रभावकारी बनाउन स्थानीय सरकारको नियमन र अनुगमनको आवश्यकता रहेको कुरामा जोड दिनुभयो।
शुभकामना र सहयोगको प्रतिबद्धता
लायन्स क्लब अफ भीरकोटका अध्यक्ष ढाकाराम खनाल, भीरकोट उद्योग वाणिज्य संघका उपाध्यक्ष नुवादत्त अर्याल, र शुभलक्ष्मी सहकारीका अध्यक्ष भक्त बहादुर के.सी. , भीरकोट नगर उपप्रमुख भगवती रेग्मी अर्यालले सहकारी अभियानलाई समर्थन गर्दै कृषि उत्पादन वृद्धि गर्न , रोजगारी सृजना गर्न र जनताको जीवनस्तर उकास्न सहकारी मार्फत लगानी गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। भीरकोट सहकारी संघका अध्यक्ष तोयनाथ अर्यालले पनि सहकारीका उद्देश्य प्राप्तिका लागि सहकारीको सिद्धान्तको पालना गर्नु अत्यावश्यक रहेको र सरोकारवाला सबै पक्षको साथ आवश्यक रहेको बताउनुभयो।
सहकारी सुरक्षित र भरपर्दो रहेको आश्वासन
भीरकोट नगरपालिकाका नगर प्रमुख गोविन्द कुमार कर्माचार्य , गण्डकी प्रदेशका पूर्व शिक्षा मन्त्री मेखलाल श्रेष्ठले भीरकोटमा रहेका सहकारीहरू सुरक्षित रहेको भन्दै कालिका बचत तथा ऋण सहकारीमा ढुक्कसँग आर्थिक कारोबार गर्न सबैलाई आश्वासन दिनुभएको थियो।