जनताको रकम अपचलन गर्ने सबैलाई कारबाही गर्छौं: संचारमन्त्री गुरूङ

मङि्सर १४, २०८१     नारायणप्रसाद कोइराला


नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारीमार्फत  जनताको रकम अपचलन गर्ने सबैलाई  सरकाले कानुनबमोजिम कारबाही गर्ने बताउनुभएको छ।स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आयोजना गरेको छैटौं अध्यक्ष कप तथा खेलकुद महोत्सवको शुक्रबार उदघाटन गर्दै मन्त्री गुरूङले सो कुरा बताउनुभएको हो।उहाँले सहकारी ठगी सम्बन्धमा अध्ययन गरेको संसदीय समितिले किटान गरेर दोषी देखाएका सबैलाई वर्तमान सरकारले कारबाही  गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। जनताको रकम अपचलन गर्ने व्यक्ती जुनसुकै पार्टीको जुनसुकै तहको नेता भएपनि  पक्षपात नगरी कारबाही गरिने मन्त्री गुरूङले दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “अहिले भैरहेको कारबाही सुशासनका लागि हो, राजनीतिक प्रतिशोधका लागि होइन। जनताको रकम जसरी खाइएको छ, अपचलन गरिएको छ त्यसै अनुरूप कारबाही अगाडि बढाइएको हो। ठिक बेठिक , को सही को गलत भन्ने अन्तिम फैसला न्यायलयले गर्छ।”

उहाँले राजनीतिक स्थिरता र आर्थिक  समृद्धिका लागि दुई फरक विचार बोकेका दल एक ठाउँमा जुटेको बताउँदै समृद्धिका काँग्रेस एमालेले सहकार्य गरेको दाबी गर्नुभयो। नेपाली काँग्रेस र एमाले मिलेर पञ्चायत तथा राजतन्त्र फालेको र राजतन्त्र फाल्न माओवादीको समेत साथ रहेको बताउँदै मन्त्री गुरुङले मुख्य समस्या समाधानमा ठुला दल मिलेको इतिहास रहेको बताउनुभयो । संविधानका केही धर्मनिरपेक्षता , संघीयता जस्ता मूलभूत कुरा बाहेक अन्य आवश्यक विषय संशाेधन हुने बताउँदै मन्त्री गुरुङले सविधान संशाेधन आवश्यकताअनुसार सबै दलसँग परामर्श गरी गरिने प्रष्ट पार्नुभयो ।

 गण्डकी प्रदेश सदस्य कल्पना तिवारीले  स्थानीय सरकार  जनताकोले खोज्दा भेटीने   स्थायी सरकार  भएको बताउनुभयो। उहाँले  कालीगण्डकीमा राम्रो काम भएकाले खिम थापाको नेतृत्वको सरकारले दोस्रो पटक पनि स्थानीय सरकारको नेतृत्व प्राप्त गरेको बताउनुभयो। यद्यपि जनताका केही गुनासा बाहिर आएकाले स्थानीय सरकारलाई जनताका गुनासा सम्बोधन हुने तरिकाले काम गर्न सल्लाह दिनुभयो। २०२८ सालमा बनेको सिद्धार्थ राजमार्ग जिर्ण बनेको र समयमा मर्मत पनि हुन नसक्दा  स्याङ्जाको पछाडी परेको बताउँदै उहाँले राजमार्ग स्तरोन्नति गर्न संचारमन्त्रीमार्फत नेपाल सरकारलाई अनुरोध गर्नुभएको थियो।

खेल महोत्सव समुद्घाटन समारोहमा  भीरकोट नगरपालिका प्रमुख गोविन्द कुमार कर्माचार्य, प्रजिअ सुनीता नेपाल, नेकपा (एमाले) का अध्यक्ष सूर्यप्रसाद गैरे, नेपाली कांग्रेस जिल्ला उपसभापति शेरबहादुर थापा, माओवादी केन्द्रका ज्ञानप्रसाद भण्डारी, राष्ट्रिय जनमुक्ति पार्टीका बमबहादुर लामिछाने, पालिका अध्यक्ष खिमबहादुर थापा, उपाध्यक्ष सावित्रा कोइराला, पालिका प्रमुख प्रशासकीय अधिकृत परशुराम पोखरेलले धारणा राख्नुभएको थियो।