साहित्यकार वनबासी सम्मानित

फागुन ३०, २०८१     स्मार्ट संवाददाता


स्याङ्जाली अग्रज साहित्यकार देविप्रसाद वनबासी  सम्मानित हुनुभएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल स्याङ्जाले २४ औं स्थापना दिवसका अवसरमा स्याङ्जाको वालिङमा उहाँलाई  सम्मान गरेको हो।

वालिङमा आयोजित  स्रष्टा सम्मान तथा अग्रज स्रष्टाहरुको फोटो प्रदर्शनी कार्यक्रममा साहित्यकार वनबासीलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । साहित्यकार वनबासीलाई प्रतिष्ठानका केन्द्रिय महासचिव शिव हमाल, सचिव घनश्याम रिजाल लगायतले सम्मान गर्नुभएको थियो ।

नेपाली लोक साहित्य र संस्कृति सम्बर्द्धनको  क्षेत्रमा उहाँले  गरेको योगदानलाई कदर गर्दै   साहित्यकार वनबासीलाई सम्मान गरिएको प्रतिष्ठान स्याङ्जाका अध्यक्ष नेत्र खड्काले जानकारी दिनुभयो।

कार्यक्रममा प्रतिष्ठानका  संस्थापक अध्यक्ष गोपाल जि.टी. र डा. अच्युत शरण अर्यालले तयार पार्नुभएको  कार्यपत्र ” आँधिखोले लोकगीतका साधकहरू”  गोपाल जि.टी. प्रस्तुत गर्नुभएको थियो। कार्यपत्रमा स्याङ्जाली अग्रज लोक गायकहरू चन्द्र बहादुर  सेन “मसाने” ,चन्द्रकान्त पाण्डे “पाँडे बा”, चेतन कार्की, कुल बहादुर राना, डिल बहादुर श्रेष्ठ, राजेन्द्र लम्साल र रत्न बानियाँको संक्षिप्त जीवनी र उहाँहरूले लोकगीत क्षेत्रमा पुर्‍याएको योगदानको समेटिएको थियो।कार्यपत्रमाथि टिप्पणी साहित्यकार अनन्त अर्याल र मिलन समीरले टिप्पणी गर्नुभएको थियो

कार्यक्रममा स्याङ्जाली साहित्यकारहरू विश्व प्रेम अधिकारी, चिन्तु गिरी, वालिङ नगरपालिकाका प्रवक्ता पदम गुरूङ, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोइराला, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य हिमलाल पराजुली, स्रष्टा अर्जुन गैह्रे लगायतको उपस्थिति रहेको थियो।  शुभकामना मन्तव्य व्यक्त गर्दै प्रवक्ता गुरूङले नेपाली स्रष्टा र दर्शक, स्रोता सबैले मौलिक लोक संस्कृतिको संरक्षणमा ध्यान दिनुपर्ने धारणा राख्नुभएको थियो।