भीरकोट नगर प्रमुख खनालद्वारा जिल्ला सभापतिमा उम्मेदवारी

भदौ २६, २०७८


५ दशक लामो राजनीतिक अनुभवले निखारिएका र स्याङ्जा जिल्लाको नेपाली काङ्ग्रेसको सांगठनिक अवस्थालाई राम्रो सँग बुझेका भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालले जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। भीरकोट खबर सँग संक्षिप्त कुराकानी गर्दै उहाँले आफ्नो उम्मेदवारी कसैको विरूद्धमा नभै पार्टी संगठन सुदृढीकरण र स्याङ्जा काङ्ग्रेसको गुमेको साखलाई पुनः स्थापित गराउने पक्षमा रहेको बताउनुभयो। जिल्ला उपसभापति भै काम गरिसकेको र नेपाली काङ्ग्रेसका भूतपूर्व जिल्ला सभापति थान बहादुर सिंह देखि अहिले सम्मका सबै जिल्ला सभापतिहरू सँग राम्रो सम्बन्ध रहेको प्रष्ट पार्दै उहाँले केन्द्र, प्रदेश,जिल्ला र स्थानीय तहलाई जोड्न सक्ने अनुभव आँट, विश्वास र क्षमता समेत भएको दाबी गर्नुभएको छ।



वि.सं. २०२२ सालदेखी नेपाली काङ्ग्रेसको राजनीतिक यात्रा सुरू गर्नुभएका खनालले २०३५ सालमा पार्टीको कृयाशील सदस्यता लिनुभएको थियो। ३६ सालदेखी एकदमै सक्रिय राजनीति गर्नुभएका उहाँले पार्टीका साथीहरूको सल्लाहमै २०४३-४६ सम्म जिल्ला पञ्चायत सदस्यको रूपमा समेत काम गर्नुभएको थियो। पञ्चायत सदस्यको रूपमा काम गर्दा समेत उहाँले पार्टी हित अनुकूलका कार्यहरू गरेको बताउनुभयो। ४२ सालको सत्याग्रह आन्दोलनमा जिल्लामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका खनालले २०४६ सालको प्रजातान्त्रिक आन्दोलन पछिका सबै प्रजातान्त्रिक आन्दोलन ,निर्वाचन र पार्टीका राजनीतिक गतिविधिहरूमा सक्रिय भएर लाग्नु भएको छ। ४९ साल र ५४ सालमा गरी २ पटक तत्कालिन स्वरेक गा. वि. स को अध्यक्षमा निवार्चित हुनुभएका खनालसँग ४८ सालदेखी पार्टीको महाधिवेशन प्रतिनिधि,महासमिति सदस्य,क्षेत्रीय सभापती र जिल्ला उपसभापति भै काम गरेको अनुभव छ। २०६२/६३ को जनआन्दोलमा सक्रिय भएर लाग्नुभएका खनाल कसैको डर,धाक,धम्की र प्रलोभनसँग  नडराउने स्वभावको हुनुहुन्छ। प्रखर र निडर वक्ताका रूपमा चिनिने उहाँले सुशासन र विधीको शासनलाई जिन्दगीभर पहिलो प्राथमिकता दिएको बताउनुभयो। उहाँले पदका लागि भन्दा पनि जिल्ला पार्टीको आर्थिक अवस्था समेत नाजुक भएकाले पार्टीको आर्थिक अवस्था बलियो बनाउन र  संगठ्न सुदृढीकरण गर्न उम्मेदवारी दिएको बताउनुभयो।



खनालले पार्टी सुदृढीकरणको स्पष्ट कार्ययोजना बनाइसक्नुभएको छ। संगठनका सबै तह र भातृसंगठनहरूलाई प्रजातान्त्रिक र अनुशासित तरिकाले परिचालन गर्दै पार्टीको नीति र इतिहासलाई जनस्तरमा पुर्‍याई नेपाली काङ्ग्रेस र अरू राजनीतिक दल बिचको फरकलाई प्रष्ट पार्ने उहाँको कार्ययोजनाको व्यवहारिक र मुख्य लक्ष्य  छ। अग्रजलाई सम्मान ,सबैलाई समान व्यवहार गर्दै समाजमा पार्टीको प्रभाव बढाउने र व्यक्तिगत प्रभाव घटाउने उहाँको योजना छ। राजनीतिक र सामाजिक जीवनलाई सँगै डोर्‍याउन सफल उहाँले आफ्नो व्यवस्थापकीय अनुभवलाई प्रयोग गर्दै समाज र पार्टी दुवैले जित्ने खालको नयाँ राजनीतिक वातावरण सुरू गर्ने योजना बनाउनुभएको छ।आवाजबिहिनको आवाज बोल्न पाउँदा र शासक भन्दा पनि जनताको प्रतिनिधिको रूपमा काम गर्न पाउँदा खुसी हुने उहाँले जनताको हितका लागि आवश्यक परेको खण्डमा  स्थापित विधि भत्काएर नयाँ विधि स्थापित गर्ने क्षमता राख्नुहुन्छ।

नेपाली काङ्ग्रेस स्याङ्जाको आगामी अधिवेशनका लागि अहिलेसम्म  भीरकोट नगर प्रमुख छायाराम खनाल,कार्यवाहक जिल्ला सभापति बुद्धीबहादुर राना (कुमार) र पूर्व संविधान सभा सदस्य राजु थापाले उम्मेदवारी घोषणा गरेका छन् ।