सार्वजनिक जग्गा पहिचान र फिर्तामा सहयोग गर्न जिल्ला प्रशासनको आग्रह

साउन १९, २०८१     नारायणप्रसाद कोइराला


जिल्ला प्रशासन कार्यालय ,स्याङ्जाले जिल्ला भित्रका सार्वजनिक जग्गा पहिचान र फिर्तामा सहयोग गर्न सर्वसाधारण नागरिकलाई अनुरोध गरेको छ। प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल र जिल्लामा क्रियाशील पत्रकारहरुबीच शुक्रबार जिल्ला प्रशासन कार्यालय स्याङ्जामा भएको अन्तरक्रिया कार्यक्रममा प्रजिअ नेपालले सार्वजनिक जग्गा पहिचान र फिर्ता गराउने कार्य पुतलीबजार नगरपालिकाबाट अभियानका रूपमा सुरू गरिएको जानकारी दिनुभयो। “जिल्लाका सबै स्थानीय सरकारहरूसँग सार्वजनिक जग्गाको  तथ्याङ्क मागिएको र जिल्ला मालपोत र नापी कार्यालयसँग सहकार्य गरि जग्गा पहिचान, सिमाङ्कन र फिर्ता गर्ने कार्य भैरहेको छ। स्थानीय नागरिकको सूचना र सहयोगविना उक्त कार्यले अपेक्षित सफलता प्राप्त गर्न सक्दैन। त्यसैले सार्वजनिक जग्गाको पहिचान र फिर्तामा नागरिकको सहयोगको अपेक्षा गरेका हौं।” प्रजिअ नेपालले भन्नुभयो।



पुतलीबजार नगरपालिकाको वडा नं १३ मा ५० रोपनी सार्वजनिक जग्गा पहिचान गरि फिर्ता गराइएको सहायक प्रजिअ दिपक पौडेलले जानकारी दिनुभयो। पुतलीबजार नगरपालिकाभित्र सयौं रोपनी सार्वजनिक जग्गा अतिक्रमित भएको पाइएकाले सरकारी स्वामित्वमा ल्याउने कार्य भैरहेको र केही समयमा नै नतिजा आउने  पौडेलले बताउनुभयो।



प्रजिअ  नेपालले विपद् व्यवस्थापनमा प्रशासनले कुनै कसर बाँकी नराखेको र सकेसम्म घटना स्थलमै पुगेर राहत बाँडेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ” घर भत्केको र मृत्यु भएको खण्डमा मात्रै प्रशासनले आर्थिक सहायता/ राहत प्रदान गर्छ। विपद्का कारण अप्ठ्यारोमा परेका असाहय, विपन्न नागरिकलाई तत्काल राहत वा क्षतिपूर्ति दिने काम स्थानीय सरकारको हो। स्थानीय सरकार विपद् व्यवस्थापनमा थप जिम्मेवार र चनाखो हुनु  आवश्यक छ।”

 जिल्ला प्रशासन कार्यालय स्याङ्जामा शुक्रबार भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रशासन कार्यालयद्वारा आर्थिक वर्ष २०८०/८१  मा भएका कार्य प्रगतिकाबारेमा पत्रकारहरुलाई जानकारी दिईएको थियो । जिल्ला प्रशासनले प्रवाह गर्ने सेवालाई छिटो छरितो र प्रभावकारी बनाउन सक्दो प्रयास गरिरहेको र  अनलाइनबाट नागरिकता दिने अन्तिम तयारी भैरहेको प्रजिअ नेपालले बताउनुभयो। सरकारी कामकाजमा प्रयोग हुने हुलाक टिकट अंकित मूल्यमै प्रशासनमा उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो। बजार अनुगमन, प्राकृतिक विपद्को बेलमा तत्काल उद्धार र राहतको व्यवस्थापन, सडक खुलाउने  लगायत दैनिक प्रशासनले गर्दै आएको सेवाप्रवाहमा प्रशासनले कुनै कसुर बाँकी नराखेर काम गरेको प्रजिअ नेपालले बताउनुभयो।

प्रशासनले बेलाबेलामा स्थानीय सरकारका प्रमुख, प्रशासकीय अधिकृतहरु , उद्योगी व्यवसायी, यातायात व्यवसायी, औषधी व्यवसायी लगायत नागरिकसगँ जोडिएका सरोकारवाला निकायहरुसगँ अन्तरक्रिया गरी नागरिकको सेवा सुविधालाई कानुनबमोजिम  सहज र प्रभावकारी बनाउन ध्यानाकर्षण गराइएको सहायक प्रजिअ तथा सूचना अधिकारी दीपक पौडेलले जानकारी दिनुभयो ।

असार २१ र २२ गते आएको अविरल बर्षाद्का कारण आएको बाढी पहिरोले जिल्लाभर पुर्‍याएको क्षतीको विवरण संकलन गर्ने कार्य जारी रहेको र बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई प्रशासनले तत्काल राहत उपलब्ध गराइएको जानकारी सप्रजिअ पौडेलले बताउनुभयो।

अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा सहित जिल्लामा क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो। पत्रकारहरूले जनसरोकार र प्रशासनिक उपलब्धिका विषयमा नियमित अन्तरक्रिया आवश्यक रहेको बताएका थिए।