जनसेवा युवा क्लबको पहलमा बहुउद्देश्यीय सहकारी स्थापना
रवि थापा, १९ कार्तिक २०७८
भीरकोट नगरपालिका वडा नम्बर -६ फोक्सिङमा जनसेवा युवा क्लबको पहमा जनसेवा बहुउद्देश्यीय सहकारी संस्था स्थापना भएको छ । कार्तिक १८ गते जनसेवा आधारभूत विद्यालयमा एक औपचारिक समारोहका आयोजना गरी क्लबले सहकारीको समुद्घाटन गरेको छ ।
नेकपा(एमाले) भीरकोटका नगर कमिटी अध्यक्ष विश्वनाथ अर्यालको प्रमुख आतिथ्यतामा भएको समुद्घाटन समारोहमा विशिष्ट अतिथी साझा स्वास्थ्य संचालक समितिका केन्द्रीय अध्यक्ष सन्तोष केसी, वडा नम्बर ६ का वडा अध्यक्ष लक्ष्मण खत्री र स्थानीयहरूको विशेष सहभागिता रहेको थियो ।
उद्घाटन समारोहमा बोल्दै विशिष्ट अतिथि सन्तोष केसीले युवाहरूको नयाँ सोच र क्षमतालाई आफूले पूर्णरुपमा साथ र सहयोग गर्ने वाचा गर्नुभएको थियो । साथै भीरकोटका हरेक ठाउँमा युवाहरुले यस्तै नमुना कार्य गर्न पनि अनुरोध गर्नुभएको थियो ।
प्रमुख अतिथि विश्वनाथ अर्यालले हिजो पानीको समेत हाहाकार भएको ठाउँमा आज नमुना काम गरेर गाउँलाई विकासको उज्यालोतर्फ लैजाने प्रयास गरेकोमा जनसेवा युवा क्लबलाई धन्यवाद प्रकट गर्नुभएको थियो ।
क्लब एवं सहकारीका अध्यक्ष सागर थापा(डल्फिन)ले करिब एक वर्षको लामो मिहिनेत र सङघर्षले गर्दा सहकारी उद्घाटन गर्न सफल भएको र सरकारीबाट निकै सस्तो तरिकाले सामानहरू बेच्ने बताउनुभयो ।उहाँका अनुसार सहकारीमा २३४ सदस्यहरू छ्न् । युवाहरूको प्रयासबाट गाउँलेहरू खुशी भएका छ्न् ।