भीरकोट साना किसान सहकारीद्वारा बीमा सचेतना
स्याङ्जाको भीरकोटमा साना किसान सहकारी संस्था लिमिटेडले कृषि तथा जीवन विमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा १ सय २० जना किसानहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कृषि बीमा र जीवन विमाका महत्व, लाभ, र आवेदन प्रक्रियाको जानकारी प्रदान गरिएको थियो।
सहकारी संस्थाका अध्यक्ष तुलसी प्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमाल , तुलसीभञ्जाङ सहकारीका अध्यक्ष शम्भु अर्याल, सानिमा बैंक स्याङ्जाका प्रवन्धक प्रेम महत, र कृषि ज्ञान केन्द्रका कृषि अधिकृत विकास वि.क. ले प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रममा सहभागी किसानहरूले पशु तथा बाली बीमा कार्यक्रमको महत्त्वबारे प्रशिक्षण प्राप्त गरे। आगामी दिनहरूमा सहकारीले पशु र बाली बीमा कार्यक्रमलाई अझ व्यापक रूपमा सञ्चालन गर्ने योजना पनि रहेको छ। प्रशिक्षकहरूले किसानहरूको सुरक्षाका लागि बीमा महत्वपूर्ण रहेको र प्राकृतिक विपद् तथा जोखिमहरूको सामना गर्न बीमा अति आवश्यक रहेको बताउनुभएको थियो।
सचेतना कार्यक्रमले किसानहरूमा बीमाको महत्त्वबारे थप जानकारी दिन सफल भएको र यसले भविष्यमा कृषि तथा पशुपालन व्यवसायमा देखिने जोखिमलाई न्यूनीकरण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।