ठाडाखेत मैनिखामा बक्स कल्भर्टको उद्घाटन
स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं –१३ मैनिखामा र अर्जुनचौपारी गाउँपालिका वडा नं –१ ठाडाखेत जोड्ने मल्टि सेल बक्स कल्भर्ट (मोटरेवल पक्की पुल) को उद्घाटन गरिएको छ । दरौंखोलामा ६ वर्ष अघि निर्माण भएको पुलको स्याङ्जा क्षेत्र नं १ का संघीय सांसद राजु थापाले शनिबार समुद्घाटन गर्नुभएको हो। दुबै पालिकाका जनप्रतिनिधि र स्थानीय बासिन्दाको उपस्थितिमा बाजागाजा सहित पूलको उद्घाटन गरिएको थियो।
पुलको सर्वे २०७० साल पुष ५ गते भएको थियो भने २०७४ भदौ २३ गते निर्माण कम्पनीले सम्झौता गरेर काम थालेको थियो । २०७५ साल मंसिर २२ गते निर्माण सम्पन्न भएको पुल जेएन इश्वर/सिद्धबाबा जेभीले तीन करोड ४१ लाख ९२ हजार ३०८ रुपियाँ ३५ पैसामा निर्माण गरेको इन्जिनियर सृजना शर्माले जानकारी दिनुभयो । ७९.५ मिटर लम्बाई रहेको यस कल्भर्टमा बिचमा डिभाइडर राखेर निर्माण गरिएको छ भने एक भागमा चार मिटर अग्ला पाचँ वटा सेल र अर्को भागमा २.८ मिटर अग्ला सात वटा सेल रहेका छन् ।
पुलको उद्घाटन समारोहमा बोल्दै संघीय सांसद राजु थापाले २०७० सालसम्म दरौंखोलामा एउटा पनि पक्की पुल नभएको दरौंखोलामा अहिले ४,५ वटा पुल बनिसकेको बताउँदै भौतिक पूर्वाधार विकासमा नेपालले प्रगति गरिरहेको बताउनुभयो । सांसद थापाले अर्जुनचौपारीका सबै वडामा सडक निर्माणले गति लिएको बताउँदै आवश्यकताअनुसार अन्य पूल निर्माणका लागि समेत पहल गरिने प्रतिबद्धता जनाउनुभयो। उहाँले कालिका मा.वि. नजिकै पक्की पुलको आवश्यकता रहेको र आँधिखोला करिडोरको पूलको रूपमा उक्त स्थानमा पुल बनाइने बताउनुभयो।
उद्घाटन कार्यक्रममा बोल्दै अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले संघीय सांसद राजु थापालाई मैनीखामा- बडहरे- अर्जुनचौपारी र पुतलीबजार- नरभञ्जाङ्- अर्जुनचौपारी सडक खण्डको स्तरोन्नतिलाई प्राथमिकता दिन आग्रह गर्नुभयो। उहाँले आफूले पूलको उद्घाटनलाई अर्जुनचौपारी र स्याङ्जा सदरमुकाम जोड्ने सडकमार्गको शिल्यान्सको रूपमा लिएको बताउनुभयो।
पुल उद्घाटन कार्यक्रममा पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मी, उपप्रमुख देवी अर्याल, अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी, पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गाना, अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डे, भीरकोट नगरपालिका वडा नं ७ का वडाध्यक्ष तारा अर्याल, अर्जुनचौपारी गाउँपालिका वडा नं १ का वडाध्यक्ष रनबहादुर थापा, पत्रकार, स्थानीयहरूको उपस्थिती थियो।
कार्यक्रममा पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मी, अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी, पुतलीबजार उपप्रमुख देवी अर्याल, अर्जुन चौपारी वडा नं –१ का रण बहादुर थापा, पुतलीबजार वडा नं -१३ का कार्यवहाक अध्यक्ष सुर्य बहादुर थापा लगायतले मन्तब्य राख्नु भएको थियो ।