स्याङ्जामा  `एचपिभी´ खोप अभियान माघ २२ गते देखि २८ गतेसम्म 

माघ १७, २०८१     नारायणप्रसाद कोइराला


स्याङ्जामा “एचपिभी” खोप अभियान यही माघ २२ गतेदेखि २८ गतेसम्म संचालन हुने भएको छ। अभियान अन्तर्गत जिल्लाका  करिब ९ हजार ३ सय किशोरीहरूलाई एचपिभी खोप लागाइने प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख केशव चापागाईंले जानकारी दिनुभयो।

महिलाहरुको पाठेघरको मुखको क्यान्सर रोकथामका लागि  जिल्लाका १० वर्षदेखि १४ वर्ष उमेरसम्मका ९ हजार तीन सय १९ जना किशोरीलाई `एचपिभी´ खोप लगाइने भएको हो । कक्षा ६ -१० सम्म अध्ययन गर्ने छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समुहका किशोरीहरूले एचपिभी खोप अनिवार्य  लगाउनु पर्ने  चापागाईंले प्रष्ट पार्नुभयो।

खोप अभियानलाई जिल्लाभर प्रभावकारी बनाउन जिल्ला खोप समन्वय समिति र जिल्लामा कृयाशील संचारकर्मीबिच बिहिवार भएको अन्तरक्रिया कार्यक्रममा जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख चापागाईंले खोप अभियान, लक्षित समुदाय र खोप अभियानको आवश्यकता एवं प्रभावकारीताको विषयमा जानकारी दिनुभएको थियो।

 खोप अभियानमा जिल्लाका ११ वटै स्थानीय तहका विद्यालयमा अध्ययन गर्ने लक्षित उमेर समूहमा रहेका ६ देखि १० कक्षासम्मका ९ हजार २ सय ८८ जना छात्राहरु र विद्यालय नजाने ३१ जना किशोरीलाई खोप लगाइने छ।

खोप अभियानअन्तर्गत पुतलीबजार नगरपालिकामा १ हजार ७ सय २० जना, भीरकोट नगरपालिकामा ८ सय ३३ जना, वालिङ् नगरपालिकामा १ हजार नौ सय ८० जना, गल्याङ नगरपालिकामा १ हजार १ सय ११ जना, चापाकोट नगरपालिकामा ८ सय ९० जना किशोरीलाई  खोप लगाउने तयारी छ ।

यस्तै, अर्जुनचौपारी गाउँपालिकामा ४ सय ३७ जना, आँधीखोला गाउँपालिकामा ३ सय ९९ जना, फेदीखोला गाउँपालिकामा ४ सय ६४ जना, बिरुवा गाउँपालिकामा ४ सय २६ जना, हरिनास गाउँपालिकामा ४ सय ६१ जना, कालीगण्डकी गाउँपालिकामा ५ सय ९८ जना किशोरीलाई खोप लगाइने प्रदेश जनस्वास्थ कार्यालय स्याङ्जाले जानकारी दिएको छ।

जिल्ला खोप समन्वय समितिका प्रमुख श्रीप्रसाद जि.टी. ले खोप अभियानलाई सफल बनाउन सरोकारवाला सबै लाग्नुपर्ने बताउनुभएको छ। व्यक्तिगत स्वास्थ्य प्रती सजग र राज्यप्रती सकारात्मक धारणा विकास गर्नुपर्ने आवश्यकता औल्याउँदै उहाँले संचारकर्मीलाई समेत सकारात्मक विषयवस्तुलाई बढी प्राथमिकता दिन अनुरोध गर्नुभएको थियो।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले खोप अभियान सफल बनाउन प्रचारप्रसारलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो। राज्यले संचालन गर्ने खोप अभियानमा सहभागी हुने र  नियमित स्वास्थ्य परीक्षण गरेमा क्यान्सरजस्ता घातक रोगबाट बच्न सकिने नेपालको भनाइ छ।

अभियानका क्रममा लक्षित उमेर समूहमा रहेका विद्यालय नजाने किशोरीहरुले परिचय खुल्ने कागजपत्रसहित पायक पर्ने विद्यालयहरुमा गएर खोप लगाउन सक्ने स्वास्थ्य कार्यालयले जानकारी दिएको   छ । अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सरोकारवालालाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको कार्यालय प्रमुख  चापागाईंले  जानकारी दिनुभयो ।

महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर मुख्यतः एचपिभी भाइरसको संक्रमणबाट हुने गर्दछ । महिलाहरुमा हुने विभिन्न क्यान्सरहरु मध्ये पाठेघरको मुखको क्यान्सर मृत्युको प्रमुख कारण बनेको छ । यो रोगबाट नेपालमा प्रत्येक दिन चारजना महिलाको मृत्यु भएको तथ्यांक रहेको छ ।