नेपाली सेनाद्वारा निर्मित हेलिप्याड हरिनास गाउँपालिकालाई हस्तान्तरण
माघ १०, २०८०
राम बहादुर रोकाहा, स्याङ्जा
१० माघ २०८०, बुधबार
नेपाली सेनाको श्रमदानबाट निर्मित हेलिप्याड हरिनास गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।स्थानीय तहको बजेट तथा नेपाली सेनाको जनशक्ति श्रमदानमा `एक आर्थिक वर्ष, एक युनिट जोडी हेलिप्याड निर्माण´ गर्ने योजना अनुरुप स्याङ्जाको हरिनास गाउँपालिका -४ चुलिडाँडा स्थित सार्वजनिक जग्गामा हेलिप्याड निर्माण गरिएको समरजित गुल्म स्याङ्जाका गुल्मपती सेनानी दिपेश खड्काले जानकारी दिए ।
हरिनास गाउँपालिकाको आर्थिक व्यवस्थापन र समरजित गुल्म स्याङ्जाको श्रमदानबाट निर्माण गरिएको हेलिप्याडको श्री नं. ३ बाहिनी अड्डा खैरेनीटार ब्यारेक तनहुँका बाहिनीपती स.र. गौरव कुमार केसीबाट शिलालेख अनावरण तथा समुद्घाटन गरि पालिकाका प्रमुख खिम नारायण मानन्धरलाई हस्तान्तरण गरिएको सेनानी खड्काले बताए ।
श्री नं. ३ बाहिनी अड्डाका बाहिनीपती स.र. गौरव कुमार केसीको प्रमुख आतिथ्यतामा सम्पन्न हस्तान्तरण कार्यक्रममा हरिनास गाउँपालिकाका प्रमुख, उप-प्रमुख, वडा अध्यक्षहरु, जिल्लास्थित सुरक्षा निकायका प्रतिनिधिहरु, स्थानीय साथै पत्रकारहरु लगायतकाको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा समरजित गुल्मले गरेको सहयोगको उच्च कदर गर्दै गुल्मपती सेनानी दिपेश खड्कालाई हरिनास गाउँपालिकाले प्रशंसा पत्र प्रदान गरेको थियो ।