कोठामा हिटर बाल्नुहुन्छ ? ध्यान दिनुहोस् यी कुरा

पुष १०, २०८०


१० पौष २०८०, मंगलबार ।

जाडोमा घर, कार्यालय सबैतिर हिटरको प्रयोग सामान्य भइसकेकाे छ । चिसो याममा न्यानाेपनका लागि हिटर उपयोगी भएता पनि यसलाई प्रयोग गर्न नजान्दा दुर्घटना निम्तिने गरेका छन् ।

चिकित्सकहरूका अनुसार झ्याल-ढोका बन्द गरी हिटरको प्रयोग गर्नु वा आगो ताप्नु स्वास्थ्यका दृष्टिकोणले घातक हो । यसबाट कोठामा कार्बन मोनोअक्साइड बढ्ने भएकाले सुरुमा टाउको दुख्ने, वाकवाकी लाग्ने, रिँगटा लाग्ने, निस्सासिएर बेहोस हुने र पछि थाहै नपाई मृत्यु हुनेसम्मका घटना हुने गरेका छन् ।

यसले विशेषगरी बालबालिका र वृद्धवृद्धाकाे स्वास्थ्यमा जाेखिम निम्त्याउन सक्छ । त्यसैले चिसोमा तपाईं विद्युतीय हिटरको साटो अन्य कुनै प्राकृतिक विकल्प नै प्रयोग गर्नुहोस् ।

१. हावाको ओसिलोपना सोस्छ

जब तपाईं हिटर खोल्नुहुन्छ, तब यसले तपाईंको वातावरणमा भएको ओसिलो हावालाई सोसिदिन्छ । हिटर धेरै प्रयोग गर्दा छाला सुक्खा हुने तथा चिलाउने समस्या आउन सक्छ । बालबालिकाको नरम र संवेदनशील छालाको लागि हिटर एकदमै नराम्रो कुरा हो ।

विज्ञापन

२. निसासिने गराउँछ

श्वास प्रश्वासको समस्या भएकाहरूलाई हिटरले स्वास फेर्न अप्ठ्यारो बनाउन सक्छ । हिटर प्रयोग गर्ने हो भने सधैं एक बाल्टिन पानी राखेर झ्यालहरू खुल्ला राख्नुहोस् ।

३. शरीरको तापमान तलमाथि बनाउँछ

हिटरको कृत्रिम तापमानमा बस्ने बानी तपाईँको शरीरलाई परेको छ भने जब तपाईँ बाहिर जानुहुन्छ, तब तपाईँको शरीरको तापमान अचानक गडबड हुन सक्छ। यस्तो बेला तपाईँ बिरामी पनि पर्न सक्नुहुन्छ।

४. आगो तथा चोटपटक लाग्न सक्छ

 जब तपाईं हिटरमा धेरै लामो समयसम्म बस्नुहुन्छ, तब तपाईँको शरीरको अंग जल्ने तथा चोटपटक लाग्ने सम्भावना हुनसक्छ ।

५. बटम लाइन

हिटर प्रयोग गरिसकेपछि यसलाई टर्न अफ गर्न नबिर्सनुहोस्। यसको माथि कुनै पनि वस्तु नराख्नुहोस्। हावामा ओसिलोपनाको सन्तुलन कायम गर्न बाल्टिनभरि पानी राख्नुहोस्। हिटर प्रयोग गर्न पावर कर्ड एक्सटेन्सन अर्थात् मल्टिप्लग प्रयोग नगर्नुहोस्।

ध्यान दिनुपर्ने कुरा

  • बन्द कोठामा रातभर वा धेरैबेर हिटर प्रयोग नगर्नुहोस् ।

  • मुटु तथा श्वासप्रश्वासजस्ता समस्या भएका मानिसहरूले सकेसम्म हिटरको प्रयोग गर्नुहुँदैन । गर्नैपरे सधैं एक बाल्टिन पानी राखेर झ्याल खुल्ला राख्नुहोस् ।

  • हिटरमा लामो समयसम्म बस्दा शरीरको अंग जल्ने तथा चोटपटक लाग्ने सम्भावना हुनसक्छ, ख्याल गर्नुहाेस् ।

  • हिटर प्रयोग गर्न सकेसम्म पावर कर्ड एक्सटेन्सन अर्थात् मल्टिप्लग प्रयोग नगर्नुहोस् ।

  • दम, एलर्जी, पिनास, ब्रोन्काइटिसको समस्या भएका बिरामीका लागि बजारमा विशेष खालको हिटर पाइन्छ, यस विषयमा जानकारी लिएर मात्र हिटर खरिद गर्नुहोस् ।

  • हिटरलाई कहिल्यै पनि ढाकेर नराख्नुहोस् । यसबाट आगलागीको सम्भावना अधिक हुन्छ ।

  • यदि कोठामा हिटर चलिरहेको छ भने समय-समयमा पानी पिउनुहाेस् । चिया, कफी वा सुप लिनु पनि राम्रो हुन्छ । यसले छाला सुक्खा हुनबाट केही कम गर्न सक्छ ।

  • आवतजावत भइरहने ठाउँमा हिटर नराख्नुहाेस् । विशेषगरी बच्चाहरूको पहुँचबाट यसलाई टाढा राख्नुहाेस् । समथर सतहमा हिटर राख्नु राम्रो हुन्छ ।

  • हिटर नजिकै जल्ने खालका कागज, ब्ल्यांकेटजस्ता सामग्री नराख्नुहाेस् ।

(टेकपानाको सहयोगमा)