९ हजार ३ सय किशोरीलाई `एचपिभी´ खोप लगाउने तयारी


स्याङ्जाका करिब ९ हजार ३ सय किशोरीहरूलाई एचपिभी खोप लगाइने भएको छ। महिलाहरुको पाठेघरको मुखको क्यान्सर रोकथामका लागि `एचपिभी´ खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालय, पुतलीबजार स्याङ्जाले जनाएको छ । माघ २२ गतेदेखि फागुन ६ गते सम्म संचालन हुने राष्ट्रिय खोप अभियान अन्तर्गत जिल्लाका १० वर्षदेखि १४ वर्ष उमेरसम्मका ९ हजार तीन सय १९ जना किशोरीलाई `एचपिभी´ खोप लगाइने भएको हो ।
राष्ट्रिय खोप अभियान अन्तर्गत स्याङ्जा जिल्लामा यहि माघ २२ देखि २७ गतेसम्म खोप अभियान सञ्चालन हुने छ। खोप अभियानमा जिल्लाका ११ वटै स्थानीय तहका विद्यालयमा अध्ययन गर्ने लक्षित उमेर समूहमा रहेका ६ देखि १० कक्षासम्मका ९ हजार २ सय ८८ जना छात्राहरु र विद्यालय नजाने ३१ जना किशोरीलाई खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालय, पुतलीबजार स्याङ्जाका प्रमुख केशव चापागाईंले जानकारी दिनुभयो।

खोप अभियानअन्तर्गत पुतलीबजार नगरपालिकामा १ हजार ७ सय २० जना, भीरकोट नगरपालिकामा ८ सय ३३ जना, वालिङ् नगरपालिकामा १ हजार नौ सय ८० जना, गल्याङ नगरपालिकामा १ हजार १ सय ११ जना, चापाकोट नगरपालिकामा ८ सय ९० जना किशोरीलाई खोप लगाउने तयारी छ ।
यस्तै, अर्जुनचौपारी गाउँपालिकामा ४ सय ३७ जना, आँधीखोला गाउँपालिकामा ३ सय ९९ जना, फेदीखोला गाउँपालिकामा ४ सय ६४ जना, बिरुवा गाउँपालिकामा ४ सय २६ जना, हरिनास गाउँपालिकामा ४ सय ६१ जना, कालीगण्डकी गाउँपालिकामा ५ सय ९८ जना किशोरीलाई खोप लगाइने प्रदेश जनस्वास्थ कार्यालय, पुतलीबजार स्याङ्जाका जनस्वास्थ्य निरीक्षक मनिष कुमार महतोले जानकारी दिनुभयो।
अभियानका क्रममा लक्षित उमेर समूहमा रहेका विद्यालय नजाने किशोरीहरुले परिचय खुल्ने कागजपत्रसहित पायक पर्ने विद्यालयहरुमा गएर खोप लगाउन सक्ने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सरोकारवालालाई अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेको कार्यालय प्रमुख केशव चापागाईंले जानकारी दिनुभयो ।
महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर मुख्यतः एचपिभी भाइरसको संक्रमणबाट हुने गर्दछ । महिलाहरुमा हुने विभिन्न क्यान्सरहरु मध्ये पाठेघरको मुखको क्यान्सर मृत्युको प्रमुख कारण बनेको छ । यो रोगबाट नेपालमा प्रत्येक दिन चारजना महिलाको मृत्यु भएको तथ्यांक रहेको छ ।