भीरकोट नगरपालिकामा निःशुल्क छाती रोग परीक्षण शिविर
भीरकोट नगरपालिकामा छाती रोगसम्बन्धी समस्याको पहिचान तथा रोकथामका लागि निःशुल्क छातीको एक्स-रे शिविर हुने भएको छ। वडा नं १ मा रहेको तमु समाज भवनमा हुने शिविरमा पोर्टेबल एक्सरे मेसिन प्रयोग गरी विशेषज्ञ डाक्टर र स्वास्थकर्मीको टोलीले छातीको परीक्षण गर्ने नगर स्वास्थ्य शाखाले जनाएको छ। मंसिर १९ गते बुधबार संचालन हुने शिविरमा सहभागी भै स्वास्थ्य लाभ लिन नगरपालिकाले छाती सम्बन्धि रोग रहेका वा जोखिममा रहेका सबैलाई आग्रह गरेको छ।
शिविरमा करिब १ जना छाती रोग विशेषज्ञसहित ११ स्वास्थ्यकर्मीको समुहले स्वास्थ्य परीक्षण गर्ने बताइएको छ। गैरसरकारी संस्था “जन्त्र” सँगको सहकार्यमा आयोजना गरिएको शिविरमा प्रदेश क्षयरोग नियन्त्रण कार्यालयले शिविरमा स्वास्थ्य सेवा प्रदान गर्न डाक्टरसहित ६ जना स्वास्थ्यकर्मीको समुह पठाएको छ।
धुम्रपान , मध्यपान गर्ने व्यक्ती, निर्माण तथा उद्योग क्षेत्रमा काम गर्ने श्रमिक वर्ग, अंग प्रत्यारोपण गरेका व्यक्ती, धुलो, धुवाँको समस्या बढी भएको क्षेत्रमा काम गर्ने एवं बसोबास गर्ने व्यक्तिलाई छाती सम्बन्धि रोगको जोखिम उच्च हुने भएकाले उहाँहरूले स्वास्थ्यलाई मध्यनजर राख्दै निशुल्क छाती रोग परीक्षण शिविर राखिएको स्वास्थ्य शाखा प्रमुख अन्जु सापकोटाले जानकारी दिनुभयो।
बिहान ८ बजेदेखि बेलुका सम्म संचालन हुने शिविरमा सहभागी हुन चाहने नागरिकको सहजताका लागि वडा नं ३,७,८ र ९ मा यातायातको प्रबन्ध गरिएको स्वास्थ्य शाखाले जनाएको छ।
क्षयरोगको सक्रिय जाँच पड्ताल गर्न भीरकोट र वालिङ नगरपालिकामा निशुल्क शिविर गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।