स्वास्थ्य कार्यालय स्याङ्जा गण्डकी प्रदेशमा उत्कृष्ट
स्वास्थ्य कार्यालय स्याङ्जा गण्डकी प्रदेशमा उत्कृष्ट भएको छ। गण्डकी प्रदेश अन्तर्गतका ११ वटै स्वास्थ्य कार्यालयहरुलाई आर्थिक वर्ष २०८०/०८१ काे प्रदेश स्तरीय वार्षिक समिक्षामा स्वास्थ्य सूचकहरुको आधारमा मूल्याङ्कन गरिएको थियो।
विभिन्न ३१ स्वास्थ्य तथा वित्तिय सूचकहरूका आधारमा स्वास्थ्य कार्यालय स्याङ्जा गण्डकी प्रदेशमै प्रथम भएको हो।स्वास्थ्यको क्षेत्रमा सञ्चालित विभिन्न कार्यक्रमहरुको मूल्याङ्कनका आधारमा एघार जिल्लामध्ये स्याङ्जा ८३.२ प्रतिशत अङ्क प्राप्त गर्दै प्रदेशकै सर्वोत्कृष्ट बनेको हो । खोप सेवा, परिवार नियोजन सेवा, मातृशिशु सेवा, क्षयरोग उपचार , बिरामी उपचार , मलेरिया उपचार, स्थानीय तहमा भएका स्वास्थ्य कार्यक्रमको प्रगती, वार्षिक बजेट र कार्यान्वयनको अवस्था लगायतका ३१ सूचकहरूको आधारमा स्वास्थ्य कार्यालय स्याङ्जा प्रदेशमा उत्कृष्ट भएको कार्यालय प्रमुख केशव चापागाईंले जानकारी दिनुभयो।
स्वास्थ्य कार्यालयले नियमित रूपमा गर्नुपर्ने कार्यहरू प्रभावकारी ढंगले गरिएको , सबै कार्यक्रम र प्रगतिको समयमै रिपोर्टिङ गरिएकाले गत आर्थिक वर्षमा १० औं स्थानमा रहेको स्याङ्जा यसपटक प्रथम हुन सफल भएको हो। सरोकारवाला सबैको सहकार्य र सहभागिताले स्वास्थ्य कार्यालय प्रदेशमै उत्कृष्ट भएको बताउँदै कार्यालय प्रमुख चापागाईंले स्वास्थ्य कार्यालयसँग सम्बन्धित सबैलाई धन्यवाद दिनुभएको छ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले गरेको मूल्याङ्कनमा स्वास्थ्य कार्यालय, बाग्लुङ द्वितीय भएको छ भने स्वास्थ्य कार्यालय कास्की तृतीय भएको छ। बाग्लुङ्ले ८१.५ प्रतिशत अंक प्राप्त गरेको छ भने कास्कीले ७५ प्रतिशत अंक प्राप्त गरेको छ।
यसैगरी स्याङ्जा अस्पताल स्याङ्जा गण्डकी प्रदेशमा प्रथम भएको छ। पर्वत अस्पताल , पर्वत द्वितीय र लमजुङ अस्पताल तृतीय भएको छ। स्थानीय तहतर्फ बुलिङटार गाउँपालिका , नवलपूर प्रथम भएको छ। बढीगाड गाउँपालिका, बाग्लुङ द्वितीय भएको छ भने पुतलीबजार नगरपालिका तृतीय भएको छ।