लायन्स क्लबको संयोजनमा डेङ्गु सचेतना तथा सरसफाई

साउन २३, २०८१     स्मार्ट संवाददाता


लायन्स क्लब अफ भीरकोटको संयोजनमा भीरकोटमा डेङ्गु , हैजारोग सचेतना तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। सचेतना तथा सरसफाई कार्यक्रममा भीरकोट नगरपालिका, भीरकोट जेसिज, सन्त निरंकारी मण्डल, भीरकोट उद्योग वाणिज्य संघ लगायतका संघ संस्थाहरूको सहभागिता रहेको थियो।  सचेतना तथा सरसफाइ कार्यक्रममा दार्सिङ देखि प्रहरी चौकी सम्म डेङ्गु र हैजाका कारण, लक्षण र  बच्ने उपाय र सरसफाइको महत्त्वका बारेमा माइकिङ गरिएको थियो भने आवश्यकता अनुसार सरसफाइ पनि गरिएको थियो।



वर्षायाममा खानेपानीका स्रोतहरू दुषित हुने , घर वरपर र सार्वजनिक स्थलमा पानी जम्ने हुँदा हैजा तथा  डेङ्गुको प्रकोप हुने भएकाले सचेतना  तथा सरसफाई कार्यक्रम गरिएको लायन्स क्लब अफ भीरकोटका अध्यक्षका अध्यक्ष ढाकाराम खनालले जानकारी दिनुभयो।



भीरकोट जेसिजका अध्यक्ष भरत खड्काले महामारीबाट बच्न सरसफाइमा ध्यान दिनुपर्ने बताउँदै स्वास्थ्य सचेतना कार्यक्रममा भीरकोटमा क्रियाशील संघसंस्थाबिच एकता भएकोमा खुशी व्यक्त गर्नुभयो।

स्वास्थ्यकर्मी जगदिश खनालले डेङ्गु तथा हैजा रोगको लक्षणहरूको बारेमा जानकारी गराउँदै लायन्सको अग्रसरतामा स्वास्थ्य सचेतना कार्यक्रम भएकोमा खुशी व्यक्त गर्नुभएको थियो।

लायन्स क्लब अफ भीरकोटका संस्थापक अध्यक्ष याम प्रसाद अधिकारी (लक्ष्मण) ले लायन्स सामाजिक र मानवीय सहायतमा जुट्ने संस्था भएको प्रष्ट पार्दै सचेतना र सरसफाइ कार्यक्रममा जुट्नुहुने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।