स्याङ्जा जिल्ला अस्पतालले पायो प्रमुख

भदौ ०१, २०८०


युवराज पौडेल,स्याङ्जा
१ भाद्र २०८०, शुक्रबार

स्याङ्जाको सदरमुकामस्थित कुमालगाउँमा रहेको स्याङ्जा जिल्ला अस्पतालले मेडिकल सुपरिटेन्डेन्ट पाएको छ। १० महिनादेखि रिक्त मेडिकल सुपरिटेन्डेन्टको पदमा डाक्टर रूक्मिना अधिकारी हाजिर भएकी हुन् ।यसभन्दा अगाडि अस्पतालमा प्रमुख रहनुभएका मेडिकल सुपरिटेन्डेन्ट रमेशप्रसाद आचार्यको लमजुङ जिल्ला अस्पतालमा कार्तिक १४ गते सरूवा भएपछि अस्पताल प्रमुखविहिन थियो ।

मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रूक्मिना अधिकारी

आचार्यको सरूवा भएपछि वरिष्ठ नर्सिङ अधिकृत कृष्णकुमारी कार्कीले निमित्त कार्यालय प्रमुखको भूमिका निर्वाह गर्दै आएकी थिइन् ।अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्टका रूपमा आएकी डा. रूक्मिना अधिकारी यसभन्दा अगाडि जिल्ला अस्पताल प्रमुखका रूपमा पर्वतमा कार्यरत थिइन् ।

अस्पतालमा सरूवा भई आएकी डा. रूक्मिना अधिकारीलाई अस्पताल व्यवस्थापनले स्वागत गरेको छ। प्रमुखको जिम्मेवारी सम्हालेपछि बोल्दै डा. अधिकारीले आफूले विगत १४ महिना पर्वत जिल्ला अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्टका रूपमा जिम्मेवारी निर्वाह गरेको र सो अनुभवको समेत उपयोग गर्दै प्रमुखको रूपमा रहने अवसरलाई क्षमताले भ्याएसम्म अस्पतालका हितमा उपयोग गर्ने बताइन्।