तीजको शुभकामना
हार्दिक मंगलमय शुभकामना तीजपर्वको बेलिमा
जन्मदाता, पालनकर्ता सम्पूर्ण नारी चेलीमा।
हरितालिका पर्व आयो आधा आकाश ढाक्नेको
निम्तो मान्न नगए हुन्छ होटल पार्टीमा खान डाक्नेको।
दर खाने एकदिन हुन्छ, हुँदैन महिना भरी
आज एउटा भोलि अर्कै हुनु पर्ने सारी।
तीजको अघिल्लो दिन खानुपर्छ दर
पञ्चाङ्ग र क्यालेन्डरमा अरू दिन पनि लेखेको छ र ?
निरन्तर आउने जाने पर्व तीज, दशैं, तिहार
संस्कृति बचाउ दिदीबहिनी, खाउ घरकै आहार।
यस वर्षको तीज पर्व सुखमय रहोस्
मौलिक पोशाक, सादा खाना, तडकभडक नहोस्।
पचास प्रतिशत भोजन राम्रो, पच्चीस प्रतिशत पानी
पच्चीस प्रतिशत हावा अट्ने गरी खानी।
पन्ध्र दिनमा एक दिन खाली पेट राख्नु स्वास्थ्यको लागि राम्रो
प्रत्येक एकादशीमा उपवास बस्ने चलन छदैछ हाम्रो।
बिहान सबेरै खाना पानी पिउनु, खाना पछि दही
बेलुकामा दूध पिउनु साह्रै राम्रो छ है।
स्वास्थ्यको ख्याल राखे मुरीमुरी सलाम हजुर
ठिकै खाउँ चाड मनाउँ, लैलैमा नलाउ हजुर।
दस औंला जोडी बिन्ती गर्छु, एक दिन खानु दर
दरको नाममा नबिगार्नु आफ्नो स्वास्थ्य अनि घर।
महिनौं अघि पार्टीमा खाको हुन्छ हजुर भोज
विकृति, विसङ्गती हैन मौलिक संस्कार रोज।
सद्बुद्धि दिनुस् सबलाई देवी खिलुङ कालिका
उल्लासमय बनोस् सबको चाड हरितालिका।
तीज पर्वको शुभकामना कविताको सार हजुर,
मौलिक र संस्कारी हुनुस्, हस्त नमस्कार हजुर।