भीरकोटमा साप्ताहिक हाटबजार पुन: संचालन

फागुन १४, २०७८


१४ फागुन २०७८



भीरकोट नगरपालिका र भीरकोट उद्योग वाणिज्य संघको आयोजनामा भीरकोट १ मा साप्ताहिक हाटबजार पुनः सन्चालनमा आएको छ । नगरप्रमुख छायाराम खनालले आफैले उत्पादन गरेको २२ किलो मुला बिक्री गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो। सो अवसरमा भीरकोटका स्थानीय कृषकहरूले उत्पादन गरेका सिमित कृषिजन्य उत्पादनहरू बिक्रीमा राखिएको थियो ।



शुभारम्भ कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नगरप्रमुख खनालले एकीकृत कृषि बजारको अवधारणालाई मूर्त रुप दिने उद्देश्यले कृषि उपज बजार उपयुक्त स्थानमा पुन: संचालनमा ल्याइएको बताउनु भयो। उहाँले कृषकको सशक्तीकरणका लागि नगरले कृषक क्रेडिट कार्ड लागू गर्ने योजना बनाइरहेको बताउँदै आवश्यकताको आधारमा कृषि उपजको ढुवानीको व्यवस्था समेत मिलाइने जानकारी दिनुभयो। कृषिलाई आधुनिकीकरण र यान्त्रिकिकरण गर्न नगरले ५० प्रतिशत अनुदानमा १०० वटा हाते ट्रयाक्टर वितरण गरेको सन्दर्भलाई जोडेर उहाँले कृषकहरूलाई हाते ट्रयाक्टर प्रयोग वापद प्रती घण्टा रू ६०० भन्दा बढी नलिन आग्रह समेत गर्नुभएको थियो। उहाँले नगरपालिकाले दुई वटा सटर कोसेली घरको रुपमा निशुल्क दिने भएकाले व्यवसाय गर्न चाहने कृषक, सहकारी वा समुहलाई सम्पर्कमा आउन समेत अनुरोध गर्नुभएको थियो।

भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष जगदीश प्रसाद कोइरालाले किसानको श्रम र उत्पादनको उचित मूल्य दिन नगरपालिका र उद्योग वाणिज्य संघको सहकार्यमा साप्ताहिक हाटबजार पुन: संचालनमा ल्याइएको बताउनुभयो।कृषकहरूलाई सक्दो मेहनत गर्न बजारको चिन्ता नगर्न आग्रह गर्दै कोइरालाले नगरको सहकार्यमा कृषि उपजको मूल्य निर्धारण गरिने र हरेक शनिवार बिहान ७-१० बजेसम्म हाटबजारमा कृषि उपज खरिद गरिने जानकारी दिनुभयो। हाटबजार पुन: संचालनमा आएपछि भीरकोटका कृषकहरू निकै उत्साहित भएका छ्न् । भीरकोटमा यस अघि पनि हाटबजार सन्चालन भएको थियो । कोभिड-१९ को महामारी पछि यो पुन: सन्चालनमा आएको हो ।

भीरकोट नगरपालिकाले पालिकालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले कृषकहरूको माग र आवश्यकता अनुसार विविध कार्यक्रमहरू संचालन गर्दै आएको छ।