स्याङ्जामा प्रथम जिपिल क्रिकेट प्रतियोगिता हुने

साउन १५, २०८१     राम बहादुर रोकाहा


स्याङ्जाको गल्याङ नगरपालिकामा प्रथम गल्याङ प्रीमियर लिग(जिपिएल) क्रीकेट प्रतियोगिता संचालन हुने भएको छ । सोमबार गल्याङ बजारमा पत्रकार सम्मेलन गरी गल्याङ क्रीकेट संघले आगामी भदौ १ गतेबाट प्रीमियर लिग संचालन हुने जानकारी गराएको हो ।

उक्त क्रीकेट प्रतियोगिता टी – २० फर्म्याटमा खेलाइने संघका उपाध्यक्ष एवं खेल संयोजक खगेन्द्र भण्डारीले जानकारी दिनुभयो। उहाँले क्रीकेट खेलप्रतिको रुचिलाई ध्यानमा राखी गल्याङ नगरपालिकाभित्र खेलाडी उत्पादन गर्ने लक्ष्यसहित लिग आयोजना गरिएको बताउनुभयो ।

प्रतियोगिताका लागि गल्याङ नगरपालिका अन्तर्गतका आठ समूहले सहभागिता जनाउने बताउँदै खेल संयोजक भण्डारीले उक्त प्रतियोगिताले जिल्लाको क्रीकेट इतिहास रच्ने दाबी समेत गर्नुभयो।

गल्याङ नगरपालिकाभित्रका क्रीकेट खेलमा रुचि राख्ने खेलाडीका लागि अक्सन खुला गरिएको बताउँदै संघका सचिव अमृत खनालले खेल मैदान तीन ठाउँमा छनोट गरिएको जानकारी दिनुभयो । उनले बर्षाको समयमा खेल प्रभावित नहोस् भन्दै प्रतियोगिताका लागि मालुङ्गा खेल मैदान, दिमिक क्रीकेट मैदान र असेर्दीमा खेल मैदान छनोट गरी खेल खेलाइने बताउनुभयो।

उक्त गल्याङ जिपिएलका विजेताले नगद एक लाख र उपविजेताले नगद ५० हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने संघका अध्यक्ष ठगेन्द्र थापाले जानकारी दिनुभयो।