नदिजन्य सामाग्रीको अवैध ओसारपसार नियन्त्रणमा , राजस्व संकलनमा वृद्धि 

माघ ३०, २०८१     स्मार्ट संवाददाता


भीरकोटमा नदिजन्य सामाग्रीको अवैध ओसारपसार नियन्त्रणमा आएको छ। प्रहरीको सक्रियतासंँगै अवैध चोरी निकासी एवं ओसारपसार नियन्त्रणमा आएको हो।

 स्थानीय ट्याक्टर व्यवसायीले आँधिखोलाबाट  मिलोमतोमै गिटी, ढुङ्गा र बालुवा चोरी निकासी गर्दै आएका थिए। मिलोमतोमा अवैध चोरी निकासी एवं ओसारपसार हुँदा नगरपालिकाको राजस्वमा समेत नकारात्मक प्रभाव परेको थियो।

तर  दहथुम प्रहरी चौकीमा प्रहरी प्रमुखको रूपमा प्रहरी नायव निरीक्षक प्रमोद कडेल आएसँगै नदिजन्य सामाग्रीको चोरी निकासीमा कमि आएको हो। जेठ महिनादेखी दहथुम प्रहरी चौकीको जिम्मेवारी समाल्नुभएका कडेलले   भीरकोटको सुरक्षा व्यवस्थामा व्यापक सुधार ल्याउनुभएको छ। उहाँको सक्रियतामा प्रहरीले खरिद वा बिक्रिको बिल भर्पाइ विना निर्माण सामाग्रीको ओसारपसारमा रोक लगाएपछि  अवैध ओसारपसार मात्रै नियन्त्रणमा मात्रै  आएको छैन , भीरकोट नगरपालिकाको राजस्वमा पनि उल्लेख्य वृद्धि भएको छ।

आर्थिक वर्ष २०८०/८१ मा नदिजन्य सामाग्रीको अवैध ओसारपसार गर्ने सवारी साधनलाई स्थानीय कानुन बमोजिम जरिवाना गर्दा जम्मा जम्मा २० हजार राजस्व संकलन भएको थियो। तर आर्थिक वर्ष २०८१/८२ को माघ महिनासम्म १ लाख ५० हजार राजस्व संकलन भएको भीरकोट नगरपालिकाको राजस्व शाखाले जानकारी दिएको छ। माघ महिनासम्म नदीजन्य  सामाग्री ओसारपसार गर्ने १५ वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिइ नगरपालिकामा बुझाएको थियो। पहिलोपटक अवैध ओसारपसार गर्ने सवारी साधनलाई १० हजार रूपैयाँ  जरीवाना लिने गरिएको लेखा शाखा प्रमुख एवं सूचना अधिकारी जब्बर अलि मियाले जानकारी दिनुभयो।