भीरकोट वडा नं ८ का नागरिकले  इलाका प्रशासन वालिङबाट सेवा पाउने 

भदौ २२, २०८१     नारायणप्रसाद कोइराला


भीरकोट नगरपालिका वडा नं ८ का नागरिकले इलाका प्रशासन कार्यालय, वालिङबाट प्रशासनिक सेवा पाउने भएका छन्।जिल्ला प्रशासन कार्यालय स्याङ्जा भन्दा इलाका प्रशासन कार्यालय वालिङबाट सेवा सुविधा लिन जनतालाई पायक पर्ने भएकाले गृह मन्त्रालयले सो निर्णय गरेको गृह मन्त्रालयका शाखा अधिकृत रमाकान्त अर्यालले जानकारी दिनुभयो।



भदौ ९ गतेको सचिव स्तरको निर्णय अनुसार इलाका प्रशासन कार्यालय वालिङको कार्यक्षेत्र विस्तार गरिएको र साविक ढापुक सिमलभञ्जाङ गा.वि. स अर्थात् वडा नं ८ का नागरिकहरूलाई इलाका प्रशासन कार्यालय वालिङबाट सेवा प्रवाह गरिने जिल्ला   प्रशासन कार्यालय, स्याङ्जाका प्रशासकीय अधिकृत संयोग भट्टराईले जानकारी दिनुभयो।यस सम्बन्धमा भीरकोट नगरपालिका र वडा नं ८ लाई समेत परिपत्र गरिसकिएको जिल्ला प्रशासनले जनाएको छ।



वडा नं ८ का वडा अध्यक्ष नन्दलाल खनालले  तत्कालिन गृह सचिव एकनारायण अर्याललाई भेटी वडा नं ८ का नागरिकलाई पनि वालिङबाट नै प्रशासनिक सुविधा दिने व्यवस्था मिलाउन अनुरोध गर्नुभएको थियो। उहाँकै अनुरोधमा  गृह सचिव स्तरको निर्णयले वडा नं ८ का बासिन्दाले  इलाका प्रशासन कार्यालय , वालिङबाट सेवा प्राप्त गर्न सम्भव भएको खनालले  बताउनुभयो। भौगोलिक दुरी र सहजताका किसिमले पनि नागरिकलाई वालिङ पायक हुँदा नागरिकको सुविधालाई मध्यनजर गरि वालिङबाट सेवा लिन पाउने व्यवस्था मिलाइएको उहाँको भनाई छ। अब नागरिकता , राहदानी लगायतका जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध हुने सबै सेवा वालिङबाटै प्राप्त हुने वडा अध्यक्ष खनालले जानकारी दिनुभयो।

भीरकोटका सबै बासिन्दालाई जिल्ला प्रशासन कार्यालय स्याङ्जा भन्दा इलाका प्रशासन वालिङबाट सेवा लिन सहज छ । तर हालसम्म वडा नं ४,५ ,८ र ९ का बासिन्दाले मात्रै वालिङ्बाट सेवा लिन पाएका छन्।