नारायणप्रसाद कोइराला
२ साउन २०७९

स्याङ्जाको भीरकोट नगरपालिकाका वडा नं १ लामाचौर निवासी राजकुमार श्रेष्ठले व्यवसायिक बाख्रापालनबाट वार्षिक ८ लाख आम्दानी गर्दै आउनुभएको छ। सिद्धार्थ राजमार्गको नजिकै भीरकोट  नगरपालिका -१ लामाचौरमा ७ वर्षदेखी व्यवसायिक बाख्रापालन गर्नुभएका श्रेष्ठको बयरघारीमा फेन्सी पसल पनि छ। उहाँले भन्नुभयो, “म कपडाको व्यवसाय भन्दा बाख्रापालनबाट नै सन्तुष्ट छु । बिहान बेलुकी गरेर दिनको दैनिक ४ घण्टा समय दिंँदा खर्च कटाएर ६ देखि ८ लाख कमाउँछु। ” शनिबार पसल बन्द हुने भएकाले उहाँले यो दिन पूर्णरूपमा बाख्राहरूको हेरचाहमा बिताउनुहुन्छ। उहाँकी जीवनसाथी मञ्जुले उहाँलाई दुबै व्यवसायमा भरपूर सहयोग गर्नुहुन्छ। १० रोपनी क्षेत्रफलमा नेपियर र विभिन्न जातका डालेघाँस लगाउनुभएका श्रेष्ठले बाख्रापालन गर्न चाहने किसानहरूले घाँस उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँले उत्पादन गरेका पाठापाठीहरू जिल्ला भित्र मात्रै नभएर कैलाली, झापा सम्म  बिक्रीवितरण भैरहेका छ्न्।

हाल शतप्रतिशत बोयर जातीको बाख्रापालन गर्दै आउनुभएका श्रेष्ठले प्रजनन प्रयोजनका लागि मात्रै बाख्रापालन गर्नुहुन्छ । अष्ट्रेलियाबाट करिब साढे दुइ लाख खर्चेर बोयर बोका ल्याउनुभएका उहाँले बाख्रापालनमा हालसम्म २३ लाख ५० हजार लगानी गर्नुभएको छ। उहाँको आर एम मोर्डन एग्रो फर्ममा अहिले १८ वटा माउ बाख्रा सहित सानो ठूलो गरी ३५ वटा बाख्रा छ्न्। उहाँले उत्पादन गर्नुभएका बोयर जातीका बाख्राहरू कृषकहरूले मात्र नभई बाख्रा स्रोत केन्द्रले समेत लैजाने गरेका छ्न्। १०० बाख्राको क्षमता रहेको आधुनिक बाख्राको खोर निर्माणमा प्रदेश सरकारले १० लाख अनुदान दिने र २० लाख बराबरको काम गर्नुपर्ने भन्यो। तोकिएको मापदण्ड अनुसार खोर निर्माण गर्दा पनि २ लाख ४६ हजार मात्रै दिएको गुनासो गर्दै उहाँले सरकारले कृषि क्षेत्रमा दिने अनुदान वास्तविक किसानले भन्दा पनि पार्टीको झण्डा र झोला बोक्ने कार्यकर्ता, जनप्रतिनिधि र कर्मचारीका आफन्तहरूले सहजै पाउने गरेको बताउनुभयो। वास्तविक किसानहरूलाई अनुदान प्राप्त गर्न विभिन्न बाहनामा दु: ख दिइने गरेको उहाँको अनुभव छ। नगद अनुदान दिने प्रवृत्तिले कृषि क्षेत्रमा वेथिती मौलाएको उहाँको अनुभव छ। नगद भन्दा पनि प्रविधी र निर्माणमा अनुदान दिनुपर्ने उहाँको भनाई छ।

स्थानीय निकायले पनि उत्पादनमुखी भन्दा पनि वितरणमुखी तरिकाले काम गरेकाले कृषिमा अपेक्षित प्रतिफल प्राप्त नभएको उहाँको विचार छ। उहाँको विचारमा वास्तविक किसानलाई उत्पादनका आधारमा अनुदान दिने हो भने मात्रै कृषिबाट समृद्धि हासिल गर्न सकिन्छ। स्थानीय निकायले पनि दु: ख गर्ने वास्तविक किसानलाई भन्दा पहुँचवालाई अनुदान दिने गरेको उहाँको गुनासो छ। मिडियाबाट टाढै बस्न चाहने उहाँले किसानका सफलतालाई मात्रै हाइलाइट गर्ने तर समस्यालाई मिडियाले खासै चासो नदिने उहाँको आरोप छ।

भीरकोटको कृषि शाखा कर्मचारीले रोजगारी गर्ने ठाउँ मात्रै रहेको बताउँदै त्यहाँका कर्मचारीहरूले कृषकको चाहना अनुरूप कुनै कार्यक्रम ल्याउन नसकेको आरोप लगाउँदै उहाँले तटबन्धन र सडक निर्माणमा करोडौं रकम छुट्याएको नगरपालिकाले कृषिलाई उपेक्षा गरेको बताउनुभयो। आफ्नो जग्गाजमिनको सदुपयोग गर्न, बाबाआमासँगै दैनिक रमाउन र आफ्नो शारीरिक स्वास्थ्यलाई तन्दुरुस्त राख्न बाख्रापालनमा रमाउनुभएका श्रेष्ठले परिवारको साथ रहेमा मात्रै कृषि व्यवसायमा अपेक्षित सफलता हासिल गर्न सकिने बताउनुहुन्छ। बाख्रापालन व्यवसायमा दैनिक ८ घण्टा मिहिनेत गर्ने हो भने स्वदेशमै लखपती बन्न सकिने उहाँको बुझाइ छ। कपडा व्यवसाय सँगै वैदेशिक रोजगारी, केवल टेलिभिजन र यातायात व्यवसायको अनुभव सँगाल्नुभएका उहाँ बाख्रापालनमा एकदमै सन्तुष्ट हुनुहुन्छ। अन्य पेशाकर्मीहरूसँग भन्दा कृषकहरूसँग साथीत्व र आत्मीयताको भावना एकदमै बढी हुने उहाँको अनुभव छ।

भीरकोटमा उहाँजस्तै ६७ जना व्यवसायिक बाख्रापालक किसान छ्न्। चाँडो प्रतिफल खोज्ने भन्दा पनि दिगो रूपमा खट्न सक्ने र कृषि पेशालाई माया गर्ने युवाहरूले बाख्रापालन गर्न सके वैदेशिक रोजगारीको घनचक्करबाट मुक्ती पाइनुका साथै आर्थिक समृद्धि पनि हासिल गर्न सकिने उहाँको बुझाइ छ। उहाँका २ छोरी र एक छोरा छ्न्। उहाँले आफ्ना एक छोरा र एक छोरीलाई भेटेनरी डाक्टर पढाउने उदेश्यले बाख्रापालनमा वार्षिक थप ५० हजार लगानी गर्दै व्यवसाय विस्तार गरिरहनुभएको छ।