स्मार्ट अखबार  संवाददाता
२० साउन २०७९

स्याङ्जाको भीरकोट नगरपालिकाका जनप्रतिनिधिको हठका कारण भीरकोटको सब डिभिजन वन कार्यालय विस्थापित भएको छ । वडा नं. २ का वडा अध्यक्ष श्यामकाजी अधिकारीले वन कार्यालय र नगरपालिकासँग समन्वय नगरी वन कार्यालय बसेको अफिसमै वडा कार्यालय सारेपछि वन कार्यालय विस्थापित भएर अर्जुनचौपारी पुगेको छ।

“भैरहेको कार्यालयमा वडा कार्यालय सारेपछि वन कार्यालयको सेवा प्रवाहमा कठिनाइ भयो । सव डिभिजन वन कार्यालयका लागि कम्तिमा ३ वटा कोठा आवश्यक पर्छ। तर वडा कार्यालयले बसिरहेको अफिसलाई एउटा कोठामा मात्रै संकुचन गर्दा फर्निचर समेत अलपत्र भएपछि बाध्य भएर कार्यालयका सामग्री अर्जुनचौपारी सारिएको हो ।” डिभिजन वन कार्यालय स्याङ्जाका डिभिजनल वन अधिकृत तोयनाथ पौडेलले भन्नुभयो ।

यस विषयमा वडा अध्यक्ष श्यामकाजी अधिकारीसँग सम्पर्क गर्दा वन कार्यालय भएको ठाउँमा वडा कार्यालय सारिएको पुष्टि गर्दै वनलाई एउटा कोठा उपलब्ध गराइएको तर वनका कर्मचारीले आफुसँग समन्वय नगरी कार्यालय सारेको दाबी गर्नुभयो ।

सव डिभिजन कार्यालय भीरकोटका अधिकृत हिमाल न्यौपानेले पनि सेवा प्रवाहमै कठिनाई भएपछि अफिस अर्जुनचौपारीमै खुम्चिएको बताउनुभयो । नगर प्रवक्ता दिपेन्द्र के.सी.सँग यस विषयमा प्रतिक्रिया माग्दा वन कार्यालयलाई जति सक्यो चाँडो भीरकोटमै कार्यालय व्यवस्थापन गर्न प्रयास भैरहेको बताउनुभयो।

वडा अध्यक्ष अधिकारीले वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी निशा अधिकारीलाई पनि विना कारण सेवाबाट हटाउन खोजेपछि विवादित हुनुभएको छ । भीरकोट नगरपालिकामा करारमा नियुक्ति पाएका १०२ कर्मचारी छ्न् तर एक जनालाई मात्रै विना कारण राजनीतिक पूर्वाग्रहको आधारमा हटाउन खोजेपछि उहाँ विवादमा पर्नुभएको छ । उहाँका गतिविधि हेर्दा वडा नं. २ नगरपालिकाको नियन्त्रण बाहिर रहेको पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here