पत्रकार महासंघ स्याङ्जाको अध्यक्षमा कोइराला विजयी


नेपाल पत्रकार महासंघ जिल्ला शाखा स्याङ्जाको अध्यक्षमा प्रदिप कोईराला विजयी हुनुभएको छ। स्याङ्जा शाखाको अध्यक्ष पदका लागि प्रेस सेन्टरका प्रतीक्षा काफ्ले र प्रेस युनीयन र प्रेस चौतारीका साझा उम्मेदवार प्रदिप कोइरालाको उम्मेदवारी रहेको थियो । नवनिर्वाचित अध्यक्ष कोइरालाले ३४ मत प्राप्त गर्दा प्रतिद्वन्दी काफ्लेले १३ मत प्राप्त गर्नुभएको थियो।
कोइरालाको नयाँ नेतृत्वमा १६ सदस्यीय कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा माधव गैह्रे, महिला उपाध्यक्षमा साधना न्यौपाने, सचिवमा हरि प्रसाद सुवेदी (सुशील), समावेशी सह-सचिवमा कला राना, कोषाध्यक्षमा जोगराज पाठक निर्विरोध निर्वाचित हुनुभएको थियो।

महिला सदस्यमा आरती कुँवर, दलित सदस्यमा नारायण विश्वकर्मा, आदिवासी/जनजाती सदस्यमा भुम बहादुर रखाली (विनोद), राष्ट्रिय परिषद सदस्यमा ओम प्रकाश शर्मा र पार्वती पाण्डेय, महिला प्रदेश प्रतिनिधि सदस्यमा फुलमाया पाण्डेय भट्टराई र प्रदेश परिषद सदस्यमा टिकाराम अधिकारी, तोलाकान्त बगाले र रामु भट्टराई निर्विरोध निर्वाचित हुनुभएको थियो।
यसैगरी, सह-सचिव पदमा प्रतिद्वन्दी खेम प्रसाद खनाल (के.पि.) खनालले १६ मत प्राप्त गर्दा एक बहादुर गोदार (रमेश)ले ३० मत प्राप्त गरेर विजयी हुनुभयो । समावेशी सदस्यमा कामना सुनारले ११ मत ल्याउँदा हिमलाल घर्ती ३५ मत ल्याएर निर्वाचित हुनुभएको छ।
चार खुल्ला सदस्य पदका लागि पाँच जनाको उम्मेदवारी परेको थियो । जसमा युवराज पौडेलले ४१ मत, राम बहादुर रोकाहा र कृष्ण बस्यालले ४० /४० मत र सविनचन्द्र डोटेलले ३७ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ । अर्का उम्मेदवार शालिकराम पोख्रेलले भने १० मत मात्रै प्राप्त गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा स्याङ्जामा ५४ जना सदस्य रहेपनि जम्मा ४९ मत खसेको थियो । प्रेस युनियन र प्रेस चौतारीले गठबन्धन बनाएर चुनावमा भाग लिएको हुँदा चुनाव गठबन्धनका उम्मेदवार र प्रेस सेन्टरका उम्मेदवारबीच मात्रै भएको थियो । सहसचिव पदमा मात्रै एकबहादुर गोदार (रमेश) को स्वतन्त्र उम्मेदवारी रहेको थियो।