राउटे समुदायलाई आर्थिक सहयोग

मङि्सर ०८, २०८१     राम बहादुर रोकाहा


मङ्सिरमा मनाइने वडा तिहारका लागि खर्च जोहो गर्दै स्याङ्जा आइपुगेको लोपोन्मुख राउटे समुदायको टोलीलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

जंगलमा बस्ने र परम्परागत काठका सामाग्रीहरु बेचेर जीवन धान्ने समुदाय अहिले पेशा संकटमा परेपछि विभिन्न स्थानमा पुगेर खर्च जुटाउन सुर्खेतबाट पोखरा हुँदै स्याङ्जा  आएका थिए।

शुक्रबार स्याङ्जा आएको राउटे टोलीले जिविकोपार्जन गर्न समस्या रहेको आफ्नो दुखेसो पोखेका थिए । स्याङ्जा आएको राउटे टोलिका अगुवा तथा मुखिया शेर बहादुर शाहीले आफ्नो समुदायले भोगेका समस्याहरु व्यक्त गर्नुभएको थियो । हरेक वर्ष जस्तै यस वर्षपनि चाडपर्व मनाउनका लागि सहयोग संकलन गरिरहेको उहाँको भनाइ छ ।

दु:खेसो पोख्दै सहयोगको अपेक्षा राखेको टोलीलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाको तर्फबाट प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले ५ हजार रुपियाँ प्रदान गर्नुभएको थियो ।

यसैगरी, समुदायको अवस्था र समस्यामा केही हदसम्म राहत पुगोस् भन्दै पुतलीबजार नगरपालिकाले र स्थानीय व्यवसायी पार्वती गुरुङले उक्त टोलिलाई पाँच/पाँच हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेका थिए । स्याङ्जा आएको राउटे समुदायको टोलीलाई जिल्ला प्रहरी कार्यालय र रेडक्रस सोसाइटी स्याङ्जाले तथा विभिन्न व्यक्तिहरूले पनि सहयोग गरेका छन् ।

राउटे समुदायले नेपाल सरकारको तर्फबाट खान, बस्नमा निरन्तर सहयोगको अपेक्षा गरेको मुखिया शाहीले बताए । प्राप्त सहयोग रकमबाट राउटे समुदायको खाने, बस्ने प्रयोजनमा खर्च गरिने शाहीले बताउनुभयो ।

नेपालको लोपोन्मुख आदिबासी समुदायमा राउटे समुदाय रहेको छ । उनीहरुको सुर्खेतमा ४६ घरधुरी छ भने करिब दुई सय राउटे रहेका छन् ।