सकेट बम विष्फोट हुँदा पूर्वसैनिक घाइते


स्याङ्जाको चापाकोट नगरपालिकामा सकेट बम विष्फोट हुँदा ४५ वर्षीय पूर्वसैनिक गोविन्द पुरी घाइते हुनुभएको छ।
शनिबार दिउँसो घरको सामान ओसारपसार गर्ने क्रममा बम विष्फोट हुँदा चापाकोट -४ मल्याङ्कोट पुरीगाउँका पूर्वसैनिक पुरी आँखा, खुट्टा लगायत शरीरका विभिन्न ठाउँमा बमको छर्रा लागी घाइते हुनुभएको हो।

घाइते पुरीको पाल्पा स्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।
दुई वर्ष अगाडि अवकाश लिएका पूर्व नेपाली सैनिक पुरीको घरमा बम कसरी रहेको भन्ने कुरा खुलिनसकेको प्रहरीले बताएको छ । घटनाको विषयमा भने पुरी स्वयंले प्रहरीलाई खबर गर्नुभएको थियो । प्रहरीले घाइते पुरीको अवस्था सामान्य रहेको जनाएको छ भने बम विष्फोट हुँदा घाइते पुरीको कच्ची घरमा समेत क्षति पुगेको छ ।