सुरक्षित आप्रवासन कार्यक्रमको अन्तर स्थानीय सरकार समन्वय बैठक स्याङ्जामा सम्पन्न


सुरक्षित आप्रवासन ( सामी ) कार्यक्रमको वारेमा अन्तर स्थानीय सरकार समन्वय बैठक स्याङ्जाको पुतलीवजार नगरपालिकामा सोमवार सम्पन्न भएको छ ।
वैदेशिक रोजगारीको वर्तमान अवस्था, समस्या तथा अवसरहरु, सुरक्षित आप्रवासन(सामी) कार्यक्रम, कार्यक्रमबाट प्राप्त उपलब्धीहरु तथा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सेवाहरुलाई दिगोरुपमा सञ्चालनका लागि स्थानीय सरकारहरुको पहल र चौथो चरणको कार्यक्रमको जानकारी सहित स्थानीय सरकार र सरोकारवालाबिच वैठकमा छलफल भएको थियो ।
सुरक्षित आप्रवासन कार्यक्रमको चौंथो चरणको जानकारी प्रदान गरी सामी कार्यक्रम अन्तरगत हाल सम्म सन्चालनमा रहेका क्रियाकलाप र उपलव्धीका वारेमा सामाजिक विकास युवा तथा खेलकूद मन्त्रालय गण्डकी प्रदेश प्रशासन तथा योजना महाशाखा उप सचिव प्रकाशचन्द्र ढुँगानाले प्रस्तुतीकरण गर्नुभएको थियो। पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले जिल्लामा यस कार्यक्रमको उपलव्धी र वैदेशिक रोजगारीको अवस्थाको वारेमा प्रस्तुतीकरण दिनुभएको थियो ।

बैदेशिक रोजगारीका सवालमा जिल्ला प्रशासन कार्यालयको भूमिका र मञ्च संगको भूमिकाको वारेमा स्याङ्जा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले आफ्नो विस्तृत प्रस्तुती राख्दै हाल विद्यमान समस्या, चुनौती र कानून कार्यन्वयनको अवस्था र कारवाहीको वारेमा जानकारी गराउनुभएको थियो । प्रमुख जिल्ला अधिकारी नेपालले स्थानीय सरकारहरुले वैदेशिक रोजगारमा रहेका आफ्ना नागरिकको अवस्था चुस्त दुरुस्त अध्यावधिक गरेमा आपत विपतमा परेका वेला सुरक्षा प्रदान गर्न सहज हुने समेत बताउनुभएको थियो ।
पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीको अध्यक्षतामा सम्पन्न भएको वैठकमा भीरकोट नगरपालिका प्रमुख गोविन्दकुमार कर्माचार्य , कालीगण्डकी गाँउपालिका प्रमुख खिम वहादुर थापा, पुतलीबजार नगरपालिका उपप्रमुख देवी अर्याल, चापाकोट नगरपालिका उपप्रमुख इशा रानाले कार्यक्रम अत्यान्त प्रभावकारी रहेको र जिल्लाका सबै पालिकामा चौथो चरणमा लागु हुनुपर्ने बताउनुभएको थियो ।
हाल जिल्लाका पुतलीबजार, वालिङ, गल्याङ नगरपालिका र आँधीखोला, फेदीखोला र यसै आर्थिक वर्षवाट हरिनाश गाँउपालिकामा कार्यक्रम लागु भएको छ । नितिगत उपलव्धीमा आँधीखोला र पुतलीबजारको अवस्था राम्रो देखिएको छ ।