भीरकोटको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नमुना विद्यालयको भ्रमण
स्मार्ट अखबार संवाददाता
१९ भाद्र २०७९
भीरकोट नगरपालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले पालिकाका जनप्रतिनिधि, माध्यमिक विद्यालयहरूका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरूले पाल्पाको रामपुरमा अवस्थित रामतुलसी नमुना माध्यमिक विद्यालयको अवलोकन भ्रमण गर्नुभएको छ।
पालिका अन्तर्गतका १७ वटा माध्यमिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूले राम तुलसी नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालसँग विद्यालयका असल अभ्यासका बारेमा छ्लफल एवं अन्तरक्रिया गर्नुभएको थियो। भीरकोट नगरपालिकाका नगर प्रमुख गोविन्द कुमार कर्माचार्यको नेतृत्वमा पाल्पा रामपुर पुगेको अनुभव आदानप्रदान एवं अवलोकन भ्रमणमा उपप्रमुख भगवती रेग्मी अर्याल, प्रवक्ता दिपेन्द्र के.सी, वडा अध्यक्षहरू श्यामकाजी अधिकारी, नन्दलाल खनाल, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद पौडेल, शिक्षा शाखा प्रमुख विष्णुप्रसाद कोइराला , योजना शाखा प्रमुख यामप्रसाद रेग्मी लगायतका जनप्रतिनिधि र कर्मचारीहरूको सहभागिता रहेको थियो।
रामतुलसी नमुना मा.वि. पाल्पा जिल्लाकै उत्कृष्ट नमुना विद्यालय हो जहाँ २४०० भन्दा बढी विद्यार्थी र १०२ जना शिक्षक कर्मचारी रहेका छ्न्। कक्षा १२ सम्मको अध्यापन हुने विद्यालय २०२५ सालमा स्थापना भएको थियो।२०७४ सालदेखी नमुना विद्यालय विकास कार्यक्रम संचालन भएको विद्यालय आर्थिक र भौतिक रुपमा एकदमै सम्पन्न छ। १५ वर्षको दौरानमा ४०० बाट विद्यार्थी संख्या बढेर २४२४ पुग्नुमा विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालको महत्त्वपूर्ण योगदान रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो।