कक्षाकोठाको अभावमा ७ वर्षदेखि बार्दली र सिढीमा पठनपाठन


पक्की भवन , सफा र आकर्षक कक्षाकोठा, पर्याप्त खेलकुद सामाग्री र फराकिलो खेलमैदान , सुन्दर फूलबारी अनि सफा शौचालय। बालमैत्री नगरपालिकाको बालमैत्री विद्यालय भन्ने बित्तिकै तपाईंको आँखामा सायद यस्तै भौतिक संरचनाको तस्बिर आउँछ होला। बालमैत्री स्थानीय शासन लागू भएको स्याङ्जाको एक मात्र नगरपालिका भीरकोटको वास्तविकता भने तपाईंको कल्पनालाई जगैदेखी हल्लाउने खालको छ।
बालमैत्री नगरपालिका भीरकोट नगरपालिका र स्मार्ट सिटी वालिङको सिमानामा रहेको गडी भञ्जाङ आधारभूत विद्यालय बाहिरबाट हेर्दा त आकर्षक नै छ। गमलामा ढकमक्क फूलहरू फूलेका छन्। विद्यार्थी संख्या पनि अन्य आधारभूत विद्यालयको तुलनामा राम्रो छ। सुन्दर हिमाल, भीरकोट र वालिङको सेरोफेरो र आँधिखोला किनारमा रहेका सुन्दर फाँटहरू हेर्दा भीरकोट नगरपालिकाको वडा नं ५ मा पर्ने गडी भञ्ज्याङ साच्चिकै स्वर्गसरी रमाइलो छ।

तर शिशुदेखी ३ कक्षासम्म पढाइ हुने यही सुन्दर ठाउँमा अवस्थित गडी भञ्ज्याङ आधारभूत विद्यालयमा भने कक्षाकोठाको अभावमा सिढी र बार्दलीमा पढाइ हुन्छ भन्दा पत्यार नलाग्न सक्छ। नगरपालिकाका भित्ता र सार्वजनिक स्थान बाल अधिकारका सचेनामूलक सन्देशले भरिए पनि भाषण र प्रचारमा जस्तो अनुभूति यहाँका बालबालिकाले गर्न पाएका छैनन् ।
विद्यालयमा शिशु, के.जी. , एक , दुई र तीन कक्षा र भान्सा कोठा गरि ६ वटा कक्षाकोठा आवश्यक छन्। तर विद्यालय जम्मा ४ वटा कोठा मात्रै छन्। एउटा कोठामा कार्यालय छ।४५ जना विद्यार्थी रहेको यो विद्यालयमा कक्षा २ ले सिढीमा र ३ ले बार्दलीमा पढ्दै आएका छन्। सिढीमुनी नै विद्यार्थीलाई खाजा पकाउने भान्साको व्यवस्थापन गरिएको छ।
विद्यालयका प्रधानाध्यापक सरला बि.क. ले बार्दली र सिढीमा पढाउनु विद्यालयको बाध्यता भएको सुनाउनुभयो। भूकम्पमा परी विद्यालय भवनमा क्षती पुगेपछि केही समय त्यही पुरानो भवनमा टिनले बारेर भएपनि पठनपाठन गरिएको थियो तर बर्षाको समयमा त्यो पनि भत्केपछि विद्यार्थीको कक्षाकोठा सिढी र बार्दलीमा गरिएको उहाँको भनाई छ। ” वर्षातको समयमा बार्दलीमा हावाहुरी र पानीले समस्या हुने भएकाले अफिसमा राखेर पढाउँछौं। कक्षाकोठा व्यवस्थापनका लागि ७ वर्षसम्म नगरपालिकामा गुनासो गर्दा हालसम्म पनि केही गर्न सकिएको छैन।” उहाँले भन्नुभयो।
विद्यालयको नाममा ३ रोपनी जग्गा छ। तर प्रार्थना गर्न र खेल्नका लागि खेलमैदान समेत छैन। कारण विद्यालयको आँगनबाट नै सडक खनिएको छ। शौचालय जान समेत सडक पार गरेर जानुपर्ने बाध्यता छ। सडककै कारण विद्यालयको ४ कोठे भवन समेत जोखिममा परेपछि वडाको बजेटमा हालै पर्खाल निर्माण गरिएको छ। विद्यालयको स्वामित्वमा रहेको जग्गामा विद्यालयको भौतिक र शैक्षिक विकासलाई नै अवरोध पुग्ने गरि विकास गर्ने जनप्रतिनिधि र स्थानीय सरकारलाई अहिलेसम्म लाज लागेको छैन। सडकको विकल्प खोज्न पटकपटक अनुरोध गरेपनि विद्यालयको अनुरोध न समुदाय सुनेको छ न त स्थानीय सरकारले नै।
वडा अध्यक्ष कृष्ण बहादुर थापाले विद्यालयमा कक्षाकोठाको समस्या भएको स्वीकार गर्नुहुन्छ। उहाँले भन्नुभयो “विद्यार्थी संख्या त अन्य स्कुलको तुलनामा राम्रो छ तर विविध कारणले कक्षाकोठा व्यवस्थापन गर्न सकिएको छैन्।” निमित्त प्रशासकीय प्रमुख एवं शिक्षा शाखा प्रमुख विष्णु प्रसाद कोइरालाले कक्षाकोठा व्यवस्थापनका लागि यो आर्थिक वर्षमा नगरपालिकाबाट ५ लाख बजेट विनियोजन भएको छ। उहाँले भन्नुभयो, ” सम्भवतः यो वर्ष कक्षाकोठाको समस्या समाधान हुन्छ। विगतमा विद्यार्थी संख्या कम भएकाले भवन निर्माण प्राथमिकतामा परेको थिएन। “

विद्यार्थीहरूको सुविधाका लागि जनप्रिय माध्यमिक विद्यालय १ घण्टाको दूरीमा छ भने वालिङको टापु भञ्ज्याङ माध्यमिक विद्यालय ३० मिनेटको दूरीमा छ। यद्यपि, दुरी र असुविधाका कारण अभिभावकहरू अन्य विद्यालयमा पठाउन सक्दैनन्।

समुदायले समस्या समाधानका लागि प्रयास गरे पनि पर्याप्त स्रोत जुटाउन सकेको छैन। विद्यालयमा फर्निचर र कार्पेटको अभाव हुँदा पटकपटक नगरपालिका धाउँदा पनि समस्या समाधान नभएपछि प्रधानाध्यापक बि.क. ले विद्यालयको नाम्मा देउसी भैलो खेल्ने योजना बनाउनुभयो। देउसी भैलोबाट उठाइएको १ लाख १० हजारले उहाँले अत्यावश्यक फर्निचर खरिद गर्नुभयो। तर विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि थप सहयोग आवश्यक छ। बालमैत्री शिक्षा वास्तविकतामा सुनिश्चित गर्न राज्य र सरोकारवालाहरूको ध्यानाकर्षण अपरिहार्य छ।