काजिमानको प्रगतिले खुसी बनाएको छः गोपालमान श्रेष्ठ

पुष ०५, २०८१     स्मार्ट संवाददाता


स्याङ्जाको काजिमान हरिटीका माध्यमिक विद्यालयको प्रगतिले आफूलाई निकै खुसी लागेको पूर्व उपप्रधानमन्त्री तथा काजिमानका पूर्व अध्यक्ष गोपालमान श्रेष्ठले बताउनुभएको छ ।

काजिमान हरिटीका माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले दुई सङ्ख्यामा विद्यार्थी सङ्ख्या पुगिसकेको अवस्थाको विद्यालयले हाल निकै प्रगति गरेको देख्दा आफूलाई सन्तोष लागेको बताउनुभयो ।
‘विद्यालय मर्जर हुने पिर थियो तर अहिले विद्यार्थी बढेका छन् । भौतिक रुपमा पनि प्रगति भएको छ । अभिभावकहरु पनि खुसी छन् ।’ श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनुप श्रेष्ठ र प्रधानाध्यापक ऋषिराम शर्मालाई बधाइ दिँदै सबै जना मिलेर अझै विद्यार्थी बढाउन लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका पूर्व मन्त्री मेखलाल श्रेष्ठले शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्न सकेमात्र विदयार्थीले आधुनिक सीप र ज्ञान प्राप्त गर्न सक्ने बताउनुभयो ।

प्रजिअ सुनिता नेपालले काजिमान स्कुलमा भएको विज्ञान प्रदर्शनीले विद्यार्थीहरूमा जिज्ञासा बढाएको भन्दै विद्यार्थीहरूले प्रतिभा प्रस्फुटनको उपयुक्त अवसर पाएमा उनीहरूले धेरै राम्रो गर्न सक्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख विश्वराज आचार्य, नेपाली काङ्ग्रेस स्याङ्जाका प्रवक्ता भरत लम्साल, ज्योति आवासीय बोर्डिङका प्रिन्सिपल बुद्धिसागर त्रिपाठी, पूर्व प्रअ लोकराज शर्मा, महेन्द्रमान व्यथित, रामचन्द्र गिरी, शिक्षिका रीता शर्मा, विद्यार्थी प्रोमिस ढकाल लगायतले बोल्नुभएको  थियो।

कार्यक्रममा पुतलीबजार नेवा समाज नाच समितिले लाखे नाच समेत प्रदर्शन गरेको थियो । उक्त कार्यक्रममा विद्यालय बस खरिदमा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
विद्यार्थी रीतिका केसीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक युवराज पौडेलले गर्नुभएको थियो भने अध्यक्षता विद्यालय व्यवस्थापन समितका अध्यक्ष ई अनुप श्रेष्ठले गर्नुभएको थियो ।