नेपाली अक्षर र भाषाले दिएको खुशी


आजभोलि कक्षा ९ सम्म हुँदै आएको उदार कक्षोन्नोतिले गर्दा कक्षा ११/१२ मा पढ्दा समेत विद्यार्थीहरूले सहज रूपम नेपाली भाषा पढ्न लेख्न जान्दैनन् । उनीहरूले नेपाली भाषाको सट्टा रोमनाईज्ड नेपाली भाषा प्रयोग गर्छन् । अक्षरनै राम्रोसँग नचिनी ११/१२ कक्षामा पुग्दा न उनीहरूको पढाइप्रती रुचि हुन्छ न विद्यालय नै रमाइलो लाग्छ।
तर कक्षा २ मा अध्ययनरत रमेश क्षेत्री (नाम परिवर्तन) लाई विद्यालय एकदमै रमाइलो लाग्छ । उनी पुतलीबजार नगरपालिका वडा नं १३ दरौंखोलामा अवस्थित महेन्द्र आधारभूत विद्यालयमा पढ्छ्न्। अक्षरमा रस बसेपछि उनलाई नेपाली भाषाका किताबहरू पढ्न खुब मज्जा आउँछ । २ कक्षामा पढ्ने भए पनि उनले काटेमारेका अक्षरहरू सहजै पढ्न सक्छ्न्। उनको कक्षाका सबै साथीहरूले रमेशले जस्तै सहजै नेपाली भाषाका पुस्तकहरू पढ्न सक्छन्।

सोही विद्यालयमा कक्षा १ मा अध्ययनरत विविधता पौडेल (नाम परिवर्तन)ले पनि नेपाली भाषाका सग्ला अक्षर र चित्र कथा सहजै पढ्न सक्छिन्। उनको कक्षाका सबैले नेपाली भाषाका किताबहरू रमाइलो मानेर पढ्छन्।
रमेश र विविधता दुवैका कक्षाकोठा आकर्षक छन्। भित्ताभरी रंगिन अक्षर र चित्रहरू छन्। कक्षामा चिसो नआउनेगरी बस्नको लागि जुट कार्पेट र कुसन छ। कुसनमा बसेर लेख्न पढ्न मिल्ने काठका होचा र रंगिन टेबलहरू छन्। विद्यालयमा बालमैत्री पुस्तकालय पनि छ।पुस्तकालयमा १ हजार ३ सय भन्दा बढी बाल पुस्तकहरू छन्। नेपाली भाषाप्रती रुचि बसेपछि शिक्षक र विद्यार्थीहरूलाई पुस्तकालयको महत्त्वबोध भएको छ। कक्षा ५ मा अध्ययरत आयुशा क्षेत्रीले यो वर्ष पुस्तकालयबाट ४ सय पुस्तक घरमै लगेर पढीसकिन। सोही कक्षाका इवाञ्जली वि.क. ले ४ सय ३४ वटा किताब पढेर सकिन। आफ्नो रुचि अनुसारका नयाँनयाँ पुस्तक पढ्न पाएपछि उनीहरू पनि खुशीले फुरूङ्ग छन्।
प्रशन्नको कक्षा शिक्षक विष्णु रेग्मीले पढाउन थालेको २८ वर्ष पुग्यो ।तर उहाँलाई पछिल्ला ३ वर्षमा मात्रै आफ्नो पठनपाठन कृयाकलापप्रती आत्मसन्तुष्टि मिलेको छ। उहाँलाई विगतको २५ वर्ष उपलब्धिविहिन भएजस्तो लाग्छ। कारण विद्यार्थीहरूले अक्षर नचिनिकनै कक्षोन्नती भएर जान्थे। अक्षर नै नचिनेका विद्यार्थीलाई पाठ पढाउनुपर्थ्यो। अहिले विद्यार्थी र शिक्षक दुवैलाई विद्यालय रमाइलो लाग्छ ।दुबैका अनुहार उज्याला छन्। सोही विद्यालयका अभिभावक कृष्णलाल गौतम पनि खुशी हुनुहुन्छ।

विद्यार्थी र शिक्षकको नेपाली भाषा पढाइप्रतिको रुचि र लगाव देखेपछि जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जि.टी. र जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख विश्वराज आचार्य पनि दंग पर्नुभयो। कक्षा १ र २ का विद्यार्थीले बेअर्थी शब्द र अर्थपूर्ण शब्दहरू प्रष्टसँग उच्चारण गरेर पढ्दै र शब्द प्रयोग गरेर वाक्य पनि सहजै बनाएको देखेपछि जिल्ला समन्वय समितिका प्रमुख जि.टी. ले यो कार्यक्रम जिल्लाभरीका सबै विद्यालयमा लागू गर्नुपर्ने आवश्यकता औल्याउँदै सबै पालिकासँग समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो।

सबैको खुशीको एउटै कारण हो रूम टु रिड र पालिकाको लागत साझेदारी तथा सूर्योदय क्लब, स्याङ्जाको व्यवस्थापनमा संचालित प्रारम्भिक कक्षामा पठन सीप कार्यक्रम । जिल्लाका ६८ वटा विद्यालयमा यो कार्यक्रम संचालन भैरहेको छ। सन् २०२२ देखि सुरू भएको यो कार्यक्रमले साना नानीबाबुहरूलाई अक्षरसँग साक्षात्कार गराउने भएकाले छोटकरीमा साक्षरता कार्यक्रम पनि भनिन्छ।
कक्षाकोठामा नवीन विधिको प्रयोग, रूम टु रिडले तयार पारेको गुणस्तरीय पठन सामाग्री, बालमैत्री कक्षाकोठा र बालमैत्री पुस्तकालयबाट पढ्ने बानीको विकास गरेर आधारभूत तहमा नै आत्मनिर्भर पाठक बनाउने उद्देश्यले कार्यक्रम संचालन गरिएको सूर्योदय क्लबका अध्यक्ष अनन्तकुमार श्रेष्ठले बताउनुभयो । कार्यक्रमलाई कम लागतमा प्रभावकारी र प्रतिफलमुखी तरिकाले संचालन गर्न रूम टु रिडको प्राविधिक सहयोग , पालिकाको लागत साझेदारी र सुर्योदय क्लबको व्यवस्थापनमा कार्यक्रम संचालन गरिएको उहाँको भनाई छ।
कार्यक्रमको दिगोपनाका लागि स्थानीय पालिका, विद्यालय र शिक्षकले अपनत्व लिनुपर्ने रूम टु रिडका फिल्ड म्यानेजर दिनेश पोखरेलको धारणा छ। यसका लागि हरेक पालिकामा नयाँ पुराना दुबै जनशक्तिलाई नियमित तालिम, उत्प्रेरणा दिनका लागि पालिकास्तरीय तालिम संचालन हुनुपर्ने पोखरेलले बताउनुभयो।
शिक्षण सिकाइलाई फलदायी बनाउन र बालबालिकालाई आत्मनिर्भर पाठक बनाउन शिक्षकहरूलाई नियमित तालिम , साक्षरता सहजकर्ताबाट नियमित सहजीकरण र सरोकारवाला सबैको अनुगमनलाई प्रभावकारी रूपमा संचालन गरिएको रूम टु रिडका कार्यक्रम अधिकृत टेक बहादुर ढेंगाले बताउनुभयो।
हाल ८ पालिकामा संचालनमा रहेको यो कार्यक्रमप्रती कालीगण्डकी गाउँपालिका र अर्जुनचौपारी गाउँपालिकाले अपनत्व लिएर पालिका भरीका सबै विद्यालय(२२/२२वटा) मा लागू गरेका छन्। गल्याङ , वालिङ र पुतलीबजारका ९/९ वटा र भीरकोटका ८ वटा विद्यालयमा यो कार्यक्रम संचालनमा छ। यसैगरी आँधिखोलाका १२ र बिरुवा गाउँपालिकाका ५ वटा विद्यालयमा साक्षरता कार्यक्रमले विद्यार्थी, अभिभावक र शिक्षकमा खुशी र उत्साह थपिदिएको छ। साक्षरता कार्यक्रमबाट ६८ वटा विद्यालयका कक्षा १ देखि ५ सम्मका २ हजार २ सय ७२ जना विद्यार्थी र ५८६ जना शिक्षक प्रत्यक्ष लाभान्वित भएका छन्।
(बालबालिकाको हक अन्तर्गत यस अघि समाचारमा उल्लेख भएका विद्यार्थीका वास्तविक नामहरू परिवर्तन गरिएको छ। – सम्पादक)