पुर्ख्यौली थलोको माया, एउटै विद्यालयमा १० लाख २५ हजारको अक्षयकोष स्थापना

मङि्सर २३, २०८१     स्मार्ट संवाददाता


आफ्नो माटोको माया र पुर्खाको सम्झनामा स्याङ्जाका पदम बहादुर थापा सिङ्जाली मगरले उदाहरणीय कार्य गर्नुभएको छ। हाल कञ्चपूर जिल्ला भिमदत्त नगरपालिका वडा नम्बर  १८, खयरभट्टिमा  स्थायी बसोबास गर्नुभएका पदमबहादुर  मगरले आफ्नो जन्मभूमिमा शिक्षा प्रवर्द्धनको लागि १० लाख २५ हजार रूपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो।  उहाँले आफ्ना  पिता  स्वर्गीय  शोविर थापा सिङ्जाली मगरको नाममा   स्थानीय दभुङ्ठाटी  माध्यमिक विद्यालयमा  गरिब तथा जेहेन्दार विद्यार्थीलाई आर्थिक सहयोग गर्न अक्षयकोषको स्थापना गर्नुभएको हो।

भारतीय सेनाबाट निवृत्त हुनुभएका ओनरेरी क्याप्टेन मगरले अक्षयकोषबाट प्राप्त हुने व्याजबाट  प्रत्येक वर्ष गरिब र प्रतिभाशाली विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने बताउनुभयो। विद्यालय र बालबालिकाको हितमा अक्षयकोष स्थापना गर्न पाउँदा एकदमै खुशी भएको बताउँदै  ९७ वर्षीय  मगरले पुर्ख्यौली माटोको मायाले आफूलाई भीरकोटमा फर्काएको बताउनुभयो। साविक छाङ्छाङ्दी गाउँ विकास समितिको वडा नं ५ तर्पेलुङ उहाँको पुर्ख्यौली थलो हो।   मगरले आइतबार विद्यालयमा आयोजित  एक कार्यक्रमकाबिच चेक र नगदसहित  १० लाख २५ हजार विद्यालयका प्रधानाध्यापक सुवास गहतराज र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र विक्रम खाँणलाई हस्तान्तरण गर्नुभएको हो।

शैक्षिक उन्नयनका लागि यो वर्ष विद्यालयमा १५ लाख रूपैयाँ बराबरको अक्षयकोष स्थापना भएको प्रधानाध्यापक गहतराजले जानकारी दिनुभयो। समाजको सक्रिय र सकारात्मक साथ पाएपछि प्रधानाध्यापक गहतराज एकदमै खुशी हुनुहुन्छ । उहाँले अक्षयकोषले  विद्यार्थीहरूलाई शिक्षा हासिल गर्न थप सहजता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार  अक्षयकोषको सञ्चालन विद्यालयको अक्षयकोष  नियमावली अनुसार गरिने बताउनुभयो।