पब्लिक एकेडेमी मा.वि.को ७३ औं वार्षिकोत्सब सम्पन्न


भीरकोट नगरपालिका–८ ढापुकस्थित पब्लिक एकेडेमी माध्यमिक विद्यालयको ७३औं वार्षिकोत्सव नगरप्रमुख गोविन्दकुमार कर्माचार्यको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा नगरप्रमुख कर्माचार्यले उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्ने विद्यालय र शिक्षकलाई बालमैत्री दिवसको अवसरमा नगदसहित पुरस्कृत गरिने जानकारी दिनुभयो। शैक्षिक गुणस्तर सुधार्न कक्षा ३, ५ र ८ का नगरस्तरीय परीक्षा अनिवार्य गरिने र स्वतः उतिर्णको परिपाटीलाई अन्त्य गरिने प्रतिबद्धता जनाउनुभयो। उहाँले शैक्षिक सुधारका लागि नगरपालिकाले प्रभावकारी परीक्षा प्रणाली अपनाउने बताउनुभयो। उहाँले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही पुस ९ गतेदेखि सञ्चालन हुने जानकारी दिनुभयो।

निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, वडा नं ८ का अध्यक्ष नन्दलाल खनाल, बालोदय मा.वि. का प्रिन्सिपल अमृत अर्याल र भाग्योदय माविका प्रधानाध्यापक रेशमलाल खनालले पनि शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकहरूको सक्रिय भूमिका आवश्यक रहेको औँल्याउनुभयो।
विद्यालयकी प्रधानाध्यापक देवकी रेग्मीले वार्षिक शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। कार्यक्रममा विद्यार्थीहरूले कविता, संवाद र नृत्यजस्ता सांस्कृतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा उत्कृष्ट , गरिब तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति, खेलकुद र अतिरिक्त क्रियाकलापमा पुरस्कार वितरण गरिएको थियो।
विद्यार्थीहरूको तर्फबाट मन्तव्य राख्दै अतीत गुरुङ र भगवती रेग्मीले कक्षा १ देखि ९ सम्म स्वतः उतिर्ण हुने प्रणालीका कारण शैक्षिक गुणस्तर खस्किएको र एसईई परीक्षामा अपेक्षित नतिजा नआएको धारणा राख्दै नगरपालिकाद्वारा लिइने परीक्षा विश्वसनीय र नतिजामुखी हुनुपर्ने सुझाव दिए।
विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष चित्रबहादुर राना भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सहायक प्रधानाध्यापक रिवनकुमार विश्वकर्माले गर्नुभयो भने संचालन विद्यार्थी उपासना थापा र टेकनसिंह सुनारले गर्नुभएको थियो। विद्यालयको वार्षिकोत्सवलाई शैक्षिक सुधार र विद्यार्थीको प्रतिभा उजागर गर्ने अवसरको रूपमा लिइएको छ।