प्रेम बहादुरको समाज प्रेम : सामाजिक सुरक्षा रकम बालबालिकाको हितमा खर्च
स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर ६ का ९२ वर्षीय प्रेमबहादुर थापाले आफ्नो सामाजिक सुरक्षा भत्ता बालबालिकाको हितमा खर्च गर्नुभएको छ। उहाँले सामाजिक सुरक्षा भत्ताबाट १३ जना विद्यार्थीलाई लत्ताकपडा र शैक्षिक सामाग्री वितरण गर्नुभएको हो।
लुब्दीखोला आधारभूत विद्यालयमा आयोजना गरिएको दशैं विशेष शुभकामना आदानप्रदान कार्यक्रममा उक्त सामाग्रीहरू वितरण गर्नुभएको हो । कार्यक्रममा बोल्दै थापाले सामाग्री वितरण गरेर बालबालिकाको शैक्षिक विकासमा योगदान पुर्याउन पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले यस सहयोगले विद्यार्थीको मनोबल बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
थापाले भविष्यमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।। “मेरो सानो योगदानले पनि कसैको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छ,” उहाँले भन्नुभयो।
कार्यक्रममा भीरकोट नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष लक्ष्मण केसीले थापाको कार्यलाई उच्च सराहना गर्दै यस प्रकारका सहयोगले सामुदायिक विद्यालयको शैक्षिक वातावरणमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो। “हामीले सामुदायिक सहभागितामा यस्ता कार्यलाई बढावा दिन आवश्यक छ,” उहाँले भन्नुभयो।
कार्यक्रममा प्रगतिशील आमा समूह, विद्यालय व्यवस्थापन समिति, युवा क्लबदेखि अन्य विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागीता रहेको थियो ।