शिक्षा दिवसको अवसरमा गाउँपालिकास्तरीय वक्तृत्वकला

असोज ०३, २०८१     स्मार्ट संवाददाता


राष्ट्रिय शिक्षा दिवसको अवसरमा  अर्जुन चौपारी गाउँपालिकामा  वक्तृत्वकला प्रतियोगिता गरिएको छ।विश्व हिन्दु युवा संघ स्याङ्जा र अर्जुन चौपारी सार्वजनिक पुस्तकालयको संयुक्त आयोजना तथा अर्जुन चौपारी गाउँपालिकासँगको समन्वयमा वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको हो। राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर  आधारभूत तह र माध्यमिक तहका विद्यार्थीहरुको लागि छुट्टाछुट्टै विषयमा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गरिएको हो।



 “संस्कार शिक्षाको महत्त्व” शिर्षकमा भएको वक्तृत्वकला कार्यक्रममा गाउँपालिकाका ९ वटा आधारभूत तहका विद्यालयले भाग लिएका थिए। प्रतियोगितामा पञ्चकन्या मा.वि. कि छात्रा सुप्रीया क्षेत्री प्रथम हुनुभएको छ । द्वितीय अर्जुनचौपारी चिल्ड्रेन एकेडमीकि छात्रा सुलता थापा मगर र तृतीय बुद्ध आधारभूत विद्यालयकि छात्रा रश्मि पौडेल हुनुभएको छ।



“विद्यालय शिक्षा सुधारमा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय सरकारको भूमिका” भन्ने शीर्षकमा माध्यमिक तहका ७ वटा विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए। प्रतियोगितामा अर्जुनचौपारी चिल्ड्रेन एकेडेमीकि छात्रा दिपिका अर्याल प्रथम, सर्वोदय मा. वि. की रीता खनाल द्वितीय र दरौं मा.वि का छात्र झलकनाथ पौडेल तृतीय हुनुभएको छ। । कार्यक्रममा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु ३हजार रु २हजार रु १हजार रूपैयाँ नगद र प्रमाणपत्र वितरण गरिएको थियोे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अर्जुन चौपारी गाउँपालिकाकी उपाध्यक्ष सपना गुरुङले संस्कार शिक्षा विद्यार्थीहरुलाई मात्रै नभएर समाजका हरेक व्यक्तिलाई आवश्यक भएको बताउनुभयो।उहाँले नैतिक शिक्षाको खडेरीले गर्दा अहिले विभिन्न खालका नराम्रा घटना घटेको र त्यसको न्यूनीकरणका लागि संस्कार शिक्षा आवशयक रहेको कुरा बताउनु भएको थियो। शिक्षा सुधारमा पालिकाले धेरै कार्य गरेको उहाँले बताउनु भएको थियो। विश्व हिन्दु युवा संघले धेरै रचनात्मक कार्य गरेको भन्दै उहाँले प्रसंसा गर्नु भएको थियो।

यस्तै विश्व हिन्दु युवा संघका जिल्ला अध्यक्ष नबराज पाैडेलले संस्कार शिक्षा हरेक लाई आवश्यक रहेको र यो अब जिल्ला भरि नै लागू गराउन आफूहरु लागेको बताउनु भएको छ।उहाँले पालिकाको शैक्षिक सुधारकालागि आफूहरुले पनि सक्दो सहयोग गर्ने बताउनुभएको छ।सबै भन्दा ठूलो भनेको स्व धर्म हो ,यसलाई कसैले पनि बिर्सन नहुने कुरा बताउनु भएको थियो।आगामी दिनमा पालिका संँग सहकार्य गरेर आफूहरुले थप रचनात्मक कार्य गर्ने बताउनु भएको थियो।

विश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नबराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कौशल पाण्डे, विश्व हिन्दु युवा संघका सल्लाहकार  एवं भीरकोट नगरप्रवक्ता  दीपेन्द्र के.सी. ,अर्जुन चौपारी वार्ड नं १ का अध्यक्ष रण बहादुर थापा, विश्व हिन्दु युवा संघका केन्द्रीय सदस्य एवम् वालिङ नगरपालिका वार्ड नं ११ का वडा अध्यक्ष डण्ड पानी पंगेनी ,शिक्षा शाखा प्रमूख कमला चापागाईं लगायतको उपस्थिति रहेको थियो।